ललितपुर- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीको दोस्रो दिन गौरिका सिंहले आफ्नो नाममा रहेको कीर्तिमानलाई सुधार गरेकी छिन्।
सातदोबाटोस्थित हिटिङ स्वीमिङ पुलमा शुक्रबार भएको २ सय मिटर ब्याक स्टोकमा गौरिकाले नयाँ कीर्तिमान रच्न सफल भएकी हुन्। गोरिकाले शुक्रबार बिहान भएको हिट चरणको खेलमा निर्धारित दूरी २ मिनेट ३४.२५ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। यसअघि गौरिकाले नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा २ मिनेट ४१.२५ सेकेण्डमा दूरी पूरा गर्दै कीर्तिमान बनाएकी थिइन्।
कीर्तिमान बनाएकी गौरिकाले २ सय मिटर ब्याक स्टोकमा शुक्रबारै साझ ४ बजे पछि स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छिन्। उनीसँगै सोही स्पर्धामा अन्य ७ प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्नेछन्।
यसअघि स्वीमिङको इतिहासमा व्यक्तिगत स्पर्धामा बिहीबार २ सय मिटर फ्रि–स्टाइलमा गौरिकाले स्वर्ण जित्दै कीर्तिमान कायम गरेकी थिइन्। सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं सागको स्वीमिङको रिलेतर्फ स्वर्ण पदक जितेको थियो।
त्यस्तै शुक्रबार विहान नै सम्पन्न ५० मिटर फ्रि–स्टाइलमा नेपालका एलेक्स शाहले पनि आफ्नो कीर्तिमानमा सुधार गरेका छन्। उनले २४.३९ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान रच्न सफल भएका हुन्। यसअघि एलेक्सले पनि नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा २५.०६ सेकेण्डमा दूरी पार गर्दै कीर्तिमान बनाएका थिए। एलेक्सले शुक्रबार ५० मिटर फ्रि–स्टाईलमा अन्य ७ प्रतिस्पर्धीसँग स्वर्णका लागि खेल्ने छन्।
शुक्रबार दिउँसो ४ बजेपछि ७ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ। २ सय मिटर ब्याक स्टोकमा तेञ्जिङ नाम्देल रायन गुरुङ, सय मिटर ब्रेष्ट स्टोकमा सुभम श्रेष्ठ र सायद हाम्जा शाह, सय मिटर ब्रेष्ट स्टोकमा दुवना लामा र उपास्थी महर्जनले प्रतिस्पर्धा गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।