पोखरा- १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको महिला ह्याण्डबलको सेमिफाइनल समीकरण पूरा भएको छ।
आयोजक नेपाल, बंगलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन्। समूह ए बाट भारत विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्। त्यस्तै, समूह बी बाट नेपाल समूह विजेता र बंगलादेश उपविजेता बन्दै सेमिफाइनल पुगेका छन्।
अब सेमिफाइनलमा नेपालले पाकिस्तानसँग र भारतले बंगलादेशसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन्।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा भएको महिला ह्याण्डबलको समूह चरणको अन्तिम खेलमा भारत र बंगलादेशले आ–आफ्नो खेल जित्दै सेमिफाइनल पुगेका हुन्।
पहिलो खेलमा भारतले पाकिस्तानलाई ४५–२४ ले हराउदै समूह बिजेता बन्यो। समूह ए को माल्दिभ्स भने भारत र पाकिस्तानसग पराजित हुँदै बिहीबार नै प्रतियोगिताबाट बाहिरिएको थियो।
समूह बी अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले श्रीलंकामाथि ३४–१३ गोलको जित निकालेर समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो। नेपालले भने श्रीलंका र बंगलादेशसगको लगातार दुई खेल जित्दै समूह चरणको विजेता बनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।