बल्छी हान्ने दिन- कार्तिक २९, शुक्रबार। यस्तै नारासहित रिलिज हुनुअघि फिल्मको व्यापक प्रचारप्रसारमा जुटिरहेको थियो, ‘माछा माछा’ युनिट।
फिल्म हेरेपछि अन्त्यतिर पनि पर्दामा देखिन्छ, ‘माछा माछा भ्यागुतो होइन, माछा माछा, माछा नै हो।’
तर, हलमा शुक्रबारै 'बल्छी हान्न गएको' पंक्तिकारलाई फिल्म निर्देशकको यो निष्कर्ष ‘जबर्जस्त दाबी’ महशुस भयो। आखिर फिल्म त उही ‘माछा माछा, भ्यागुता’ नै रहेछ।
अभाव राजधानीको यथार्थ हो। मोफसलबाट संघर्ष गर्न काठमाडौं आउनेहरू काम र पैसाको अभावमा दिनुहुँ तड्पिरहेका छन्। यस्तो लाग्छ, यो सहरमा कोही केहीको पछि दौडिरहेको छन् भने सायद त्यो पैसा नै हो।
‘माछा माछा’का तीन प्रमुख पात्रहरू प्रदीप (सौगात मल्ल), बाबुराम (विजय बराल) र किशोर (अनोज पाण्डे)को मुख्य समस्या पनि अभाव नै हो। तीनैजना एकसाथ बसेर काठमाडौंमा संघर्षरत छन्। तीनैजनाको जीवन उस्तै छ, ल्याङफ्याङ। न सुत्नको ठेगान, न उठ्नको। न खानको, न लाउनको।
झन् अनोजलाई त गाउँबाट आमाको तारन्तार फोन आइरहेको छ, ‘पैसा कहिले पठाउँछस्, बाबु?’ त्यस्तै उता घरबेटीकी छोरी (नम्रता श्रेष्ठ)सँग प्रेम सम्बन्धमा रहेका सौगातलाई आफ्नो प्रेमिका अर्कैको हातमा थमाइदेलान् भन्ने ठूलो पिर छ।
बेरोजगारीले जीवन यसैगरी पिरोलिरहेका बेला एक दिन यी तीनजनालाई ग्याङस्टारसँग काम गर्ने उनीहरूकै मामा (प्रविण खतिवडा)ले मान्छे मार्ने कामको अफर गर्छन्, २० लाख पारिश्रमिकमा। दुई लाख अग्रिम र १८ लाख काम फत्ते भएपछि दिने सर्तमा।
मान्छे पिट्न समेत डराउने उनीहरू कसैको हत्या गर्न सफल हुन्छन्? पैसाको लोभमा पर्दा उनीहरूको जीवनमा आइपर्ने अनेक तनाव र परिस्थिति नै फिल्मको कथा हो।
विश्वभरका ‘क्राइम कमेडी’ फिल्मसँग नजिक दर्शकलाई यो कथा कुनै पनि दृष्टिबाट नयाँ लाग्दैन। ‘क्राइम कमेडी’ फिल्ममा पैसाका लागि अपहरण र हत्या, जालझेलमा महिलाको प्रयोग, एउटा भाग्ने अर्को खेदाउने लगायतका दृश्य ताजा होइनन्। यी दृश्य दर्शकको नजरमा थोत्रो भइसके। झन् सौगात त यस्तै कथामा निर्मित फिल्म ‘लुट’बाट नै स्थापित भएका हुन्। उनलाई त अझ ‘बोर’ लाग्नुपर्ने!
यद्यपि कथा नयाँ ल्याउन नसकेपनि प्रस्तुतिमा नयाँपन दिन सकिन्थ्यो। कथामा परिस्थितिहरूको विकास स्वभाविक ढंगमा गर्न सकिन्थ्यो। परिणामको अनुक्रम राम्रोसँग देखाउन सकिन्थ्यो।
तर, पर्याप्त तयारीबिना फितलो पटकथाको आडमा फिल्म बनाउन खोज्दा यसका निर्देशक सुनिल गुरुङ यी सबै पक्षमा चिप्लिएका छन्।
फिल्मका कुनै पनि प्रमुख पात्रप्रति दर्शकले अपनत्व महशुस गर्दैनन्। तीन पात्रहरूको अभावले दर्शकलाई कहीँकतै दुख्दैन। पैसाका लागि हत्या नै गर्न तयार हुनुपर्ने अवस्था महशुस हुँदैन। न मुख्य पात्रको लक्ष्यमा स्पष्ट अवरोध नै चरित्रबोध हुन्छ।
दृश्यहरू यसरी छरिएका छन् कि पर्दामा निर्देशकले के देखाउन खोजिरहेका छन्, दर्शक नै कन्फ्युज हुन्छन्। ‘अब यसपछि के होला’ भन्ने कुनै तनाव फिल्मले महशुस गराउँदैन। फिल्मभित्र निर्देशकले राम्रोसँग टेन्सनको होल्ड र विकास गर्न सकेका छैनन्। ‘क्लाइमेक्स’समेत सहजै अनुमान गर्न सकिन्छ।
त्यस्तै फिल्म बुझाउन दृश्यभन्दा बढी संवादकै साहारा लिने रोगबाट समेत यो फिल्म मुक्त छैन। फिल्म लम्ब्याउन जबर्जस्ती अनावश्यक दृश्यहरूलाई राखिएको छ। जस्तो, आफ्नी प्रेमिकालाई अर्कै केटाले हात माग्न आउँदा प्रदीपले डिस्टर्ब गर्ने दृश्य। त्यस्तै फिल्मको प्रारम्भमा देखाइने दृश्यको पनि फिल्मसँग कुनै साइनो महशुस हुँदैन।
फिल्मको प्रारम्भमा तस्करीको विषय उठान गरिएको छ। तर, फिल्ममा त्यो दृश्य प्रहरीलाई सूचना दिइरहेका घनश्याम (भोला सापकोटा)लाई मार्न लगाउने कारण सिर्जना गर्नमात्रै राखिएको देखिन्छ। त्यसपछि त्यो विषय नै फिल्मबाट हराउँछ। प्रमुख पात्रहरूको जीवनमा अवरोध सिर्जना गर्ने खलपात्रहरू (ध्रुव कोइराला, माओत्से गुरुङ)को धरातल प्रष्ट पारिएको छैन। उनीहरू आफैं घनश्यामको हत्या किन गर्न सक्दैनन्, त्यसको स्पष्ट जवाफसमेत फिल्ममा छैन।
विषयवस्तुमाथि गम्भीर व्यवहार गरिएको छैन। निर्देशकले एक त नयाँ कथा भन्न खोजेका छैनन्, अर्को जे भन्न खोजेका छन्, त्यसलाई पनि सतहीमै भनेका छन्। घरी प्रमुख पात्रहरू पैसाको पछि दौडिन्छन्, घरी प्रेमिका, घरी जग्गा, घरी फाइनान्स।
पैसाका लागि जे पनि गर्न तयार हुँदा कस्तोसम्म परिस्थिति निम्तन सक्छ, फिल्ममा निर्देशकले त्यो देखाउन खोजेका छन्। तर, सतही प्रस्तुतिमै रमाउँदा पात्र र परिस्थितिलाई दर्शकसँग जोड्न उनी असफल देखिन्छन्। फिल्मलाई उनले जसरी ल्यान्डिङ गरेका छन्, त्यो समाधान व्यावहारिक लाग्दैन। न फिल्ममा कुनै ‘सरप्राइज’ नै छ, जसले दर्शकलाई झस्काउँछ वा दर्शकको अनुमान विपरीत भइरहेको हुन्छ।
‘क्राइम कमेडी’ भनेपछि दर्शक त हसाउँनै पर्यो। यसका लागि निर्देशकले संवादको भरपुर सहारा लिएका छन्। तर, यति धेरै कमजोरीका बाबजुद केही दृश्य साँच्चिकै सुन्दर छन् जसले दर्शकलाई ‘होल्ड’ गर्छन्, ‘ह्युमर’ सिर्जना गर्छन्। जस्तो, तीन युवाहरूले घनश्यामलाई अपहरण गरेर हत्या गर्न लाग्दाको दृश्यमा गज्जब ह्युमर छ।
फिल्ममा प्रमुख पात्रहरू सौगात, विजय र अनोज तीनैजनाको अभिनयले कतैकतै हास्य सिर्जना त गर्छ तर दर्शकलाई अपनत्व महसुस गराउन सक्दैन। झन् सौगात त ‘अभिनयका बादशाह’ मानिन्छन्। तर, के उनीहरुले स्पष्टसँग आफूले निर्वाह गरेको पात्रहरूलाई स्थापित गर्न सक्षम भएका छन् त? के फिल्ममा उनीहरूको उपस्थिति कलाकारभन्दा माथि छ त? उनीहरुले निर्वाह गरेको पात्रको संवेदना दर्शकसँग गाँसिन नसक्नुमा उनीहरूको दोष छैन त? प्रश्न आवश्यक छ।
क्यारेक्टरअनुसार प्रविण खतिवडाको अभिनय फिल्ममा स्वभाविक देखिन्छ तर शेर्पा चरित्रमा माओत्से गुरुङ भने रत्तिभर ‘फिट’ छैनन्। बरु जर्बजस्ती ‘शेर्पा टोन’ निकालेर उनको क्यारेक्टरले शेर्पा समुदायमाथि उपहास गरिरहेको महसुस हुन्छ। पात्र र परिस्थितिको मुड अनुसार हल्काफुल्का कमेडी र ‘एनी हाऊ पैसा कमाऊ’ नियतले नेपालमा धेरै सिनेमाहरू बने। तर नेपाली सिनेमाको सुखद् भविष्यका लागि यो घातक छ। त्यसैले नेपाली सिनेमा अब बौद्धिक हुनैपर्छ।
सिनेमाले दर्शकमा कहीँ न कहीँ प्रभाव छाड्न र दर्शकसँग साक्षात्कार गर्न सक्नुपर्छ। बासी कथा र बासी कथ्य संरचनामै कतिन्जेल रमाउने?
नेपाली फिल्मको बजार कमेडी फिल्मले कब्जा गरिरहेका बेला निर्माण भएको ‘माछा माछा’ हेर्दा निर्देशकदेखि निर्माताद्वय दयाहाङ राई र रामबाबु गुरुङको नियत पनि यही ‘कमेडी बजार’लाई क्यास गर्ने देखिन्छ। तर, यस्तो नियतले न उनीहरूको कलात्मक प्रगति हुनसक्छ, न नेपाली फिल्मकै।
अन्त्यमा, भैँसी नुहाउने आहालमा बल्छी थापेपछि पर्ने त भ्यागुता नै हो, माछा मार्न त माछा पाउने खोलामै जानुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।