काठमाडौं– उपसभामुख शिवमाया तुम्बाहाम्फेको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सूचना आयोगका पदाधिकारीको नाम सिफारिस गरेको छ। आइतबार संसद सचिवालयस्थित उपसभामुख तुम्बाहाम्फेको कार्यालयमा बसेको बैठकले प्रमुख आयुक्त र दुई आयुक्तको नाम सिफारिस गरेको हो।
सुचनाको हकसम्बन्धी ऐनमा नै स्पष्ट रुपमा रिक्त पदाधिकारी सिफारिस अध्यक्ष सभामुखले गर्ने व्यवस्था उल्लेख छ। तर त्यसलाई बेवास्था गर्दै आइतबार तुम्बाहाम्फेले यस्तो सिफारिस गरेकी हुन्।
बैठकले नाम सिफारिस गरेको उपसभामुख तुम्बाहाम्फेले पुष्टी गरिन्। उनले भनिन् ‘दिन मिल्ने भए सूचना आयोगलाई नै दिनू भनिएको छ।’ सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेले उक्त अधिकार आफूलाई भएको भन्दै सिफारिस समितिको अध्यक्षता गरेकी हुन्।
सूचनाको हकसम्बन्धि ऐन, २०६४ मा राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र दुई सूचना आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा समिति गठन गर्ने स्पष्ट व्यवस्था छ। समितिका सदस्यमा संचार तथा सूचना प्रविधिमन्त्री वा राज्यमन्त्री र नेपाल पत्रकार महासंघका सभापति सदस्य रहने ऐनमा व्यवस्था छ।
ऐनमै सभामुखको अध्यक्षता भनेर किटान गरिएकाले उपसभामुखको अध्यक्षतामा भएको निर्णय विवादित हुन सक्ने नेपाल कम्युनिष्ट पार्टीका नेताहरुकै टिप्पणी छ। ‘व्यवहारमा सभामुख नभएको अवस्थामा उपसभामुखले जिम्मेवारी निर्वाह गर्नु राम्रो देखिएला र?’ नेकपाका एक नेताले भने‚ ‘सभामुख नभएको अवस्थामा उपसभामुखले उक्त जिम्मेवारी निर्वाह गर्ने ऐनमा कहीँकतै उल्लेख छैन। यसले उक्त निर्णयमाथि कानूनी प्रश्न उठ्न सक्छ।’
यसअघि उपसभामुखकै अध्यक्षतामा बसेको बैठकले आयोगको प्रमुख आयुक्त र आयुक्तहरूको नाम सिफारिस गर्ने प्रक्रिया थालेको थियो। त्यसका लागि कार्यविधी बनाएर योग्यबाट आवेदन माग्ने निर्णय गरेको थियो। आवेदनमध्येबाट आइतबार बसेको बैठकले नाम सिफारिस गरेको हो। राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको म्याद पुस २४ गते सकिँदै छ। हल आयोगमा कृष्णहरी बास्कोटा प्रमुख आयुक्त, किरण पोखरेल ,यशोदा तिमल्सिना आयुक्तको रुपमा रहेका छन्।
यी हुन चर्चामा रहेका नाम
उक्त आयोगको पदाधिकारीलाई पूर्व प्रकाशकदेखि पत्रकारसम्मको नाम चर्चामा रहेको थियो। सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयको सचिवबाट हालैमात्र अवकाश प्राएका महेन्द्र गुरुङ प्रमुख आयुक्तका रुपमा चर्चामा छ। त्यस्तै हालकी आयुक्त यशोदा तिमिल्सिना पनि उक्त पदकी प्रमुख दाबेदार मध्येकी एक हुन्। आयुक्तका लागि सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्मा, तत्कालीन नेकपा माओवादीनिकट प्रेस सेन्टरका उपाध्यक्ष दिपक मैनाली, प्रेस सेन्टरकै सदस्य संगीता खड्का लगायतको नाम चर्चामा रहेको छ। आइतबार बसेको बैठकले यी नामभित्रैबाट सिफारिस गरेको छ।
उक्त आयोगको पदाधिकारीलाई पूर्व प्रकाशकदेखि पत्रकारसम्मको नाम चर्चामा रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।