काठमाडौ- राष्ट्रिय सभाको एक तिहाइ सदस्यको लागि चुनाव माघ ७ गते गर्न निर्वाचन आयाेगले प्रस्ताव गरेकाे छ। संघीय संसदले ५९ मध्ये १९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिने भएकाले चुनाव गरिदिन निर्वाचन आयोगलाई पत्र पठाएपछि आयाेगले प्रस्ताव गरेकाे हाे।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ अनुसार कार्यकाल सकिनुभन्दा कम्तिमा ३५ दिनअघि चुनाव गर्नुपर्ने व्यवस्था छ। त्यसअनुसार माघ १५ गतेभित्र चुनाव गरिसक्नुपर्ने प्रावधान छ।
आयोगले ऐनमा भएको व्यवस्था अनुसार निर्वाचन प्रक्रियाको जानकारी राजनीतिक दल र सरकारलाई पठाउने तयारी गरेको छ।
राष्ट्रियसभा सदस्यको चुनावबारे आयोगले सोमबार राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल समेत गरेको थियो। उक्त छलफलमा आयोगले यसको जानकारी गराएको थियो।
दलहरुसँगको छलफलपछि माघ ७ गते राष्ट्रिय सभा सदस्यको चुनावको प्रस्ताव गर्ने तयारी आयोगले गरेको हो। चुनावको मिति सरकारले घोषणा गर्ने कानुनी व्यवस्था भए पनि आयोगको परामर्शमै मन्त्रिपरिषद्ले मिती तय गर्ने कानूनी व्यवस्था छ।
चुनावबारे छलफल गर्न सोमबार राजनीतिक दलहरुलाई बोलाएर माघ ७ देखि १० गतेभित्रको समय उपयुक्त हुने प्रस्ताव गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। राष्ट्रियसभा सदस्यको चुनावबारे आयोगले आइतबार कानुनविद्हरुसँग पनि छलफल गरेको थियो।
संघीय संसदको बैठक सुरु भएको दुई वर्ष पूरा भएसँगै फागुन २० गते निर्वाचित १८ र राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिँदैछ।
राष्ट्रपतिबाट मनोनित तीनजनामध्ये अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल फागुन २० गते सकिने छ। गोलाप्रथाबाट मनोनित रामनारायण बिडारीको चार वर्ष र विमला पौड्यालको ६ वर्ष कार्यकाल भएकाले उनीहरु कायमै रहने छन्।
विभिन्न क्लस्टरअनुसार निर्वाचित सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ।
उनीहरुको स्थानमा नयाँ सदस्य चयन हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।