इटहरी- इटहरी उपमहानगरले लैङ्गिक हिंसा न्यूनिकरणकाे १६ दिने अभियानका क्रममा २४ वटा कार्यक्रम सम्पन्न गरेको छ। यसैक्रममा भोलि बिहान ८ बजेदेखि लैगिंक हिंसाविरुद्ध इटहरी सम्मेलन हुँदैछ।
उपमेयर लक्ष्मी गौतमका अनुसार प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गर्ने सम्मेलनमा इटहरीका तीनसय जनाको सहभागिता रहने छ। गत एक बर्षको अभियानको समीक्षा गर्दै आगामी एक बर्षे कार्ययोजना तयार गर्दै सम्मेलनले इटहरी घोषणा पत्र तयार गर्ने छ।
सम्मेलनमा इटहरीको लैङ्गिक हिंसाको अवस्थाको बारे प्रतिवेदन प्रस्तुत हुनेछ। उपमेयर गौतमका अनुसार प्रतिवेदन तयारीका लागि इटहरीको सबै वडाहरुमा प्रश्न पठाएर सर्वेक्षण गरिएको छ।
देशभर १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेको बेला इटहरीमा भने गत बर्षदेखि नै बार्षिक अभियान चलिरहेको छ। इटहरीका सबै वडाहरुमा गरी ६० वटा साथी समूह गठन गरिएको छ। साथी समूह र प्रतिरक्षा समूहले वडा लैङ्गिक हिंसाका बारेमा चेतना फैलाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।