अस्ट्रेलिया- दर्शकले भरिएको तासमान हलभित्र ‘रातो र चन्द्र सूर्य’ गीत गुञ्जिएसँगै दर्शकहरू उफ्रिरहेका बेला हल बाहिर आकाशमा पनि अस्ट्रेलियाको झण्डासँगै नेपालको झण्डा फर्फराइ रहेको थियो। नेपालभन्दा धेरै टाढा अस्ट्रेलियाको मूल भूमिभन्दा अझ पर समुद्रको टापु तासमानियामा अस्ट्रेलियासँगै नेपाली झण्डा फहरिएको देखिनु नेपाली मनका लागि गौरबकाे विषय थियो।
आइतबार बेलुकी होबार्टको यो कार्यक्रमस्थलमा आइपुगेका प्रायः दर्शकहरु हलभित्र पस्नुभन्दा अघि नेपाली झण्डा सामुन्ने ‘सेल्फी’ खिच्दै रमाइरहेका देखिन्थे। अढाइ लाख जनसंख्या पनि नभएको अस्ट्रेलियाकै सबैभन्दा शान्त प्रादेशिक राजधानीमा पछिल्लो समय विस्तारै नेपालीकाे संख्या पनि बढ्न थालेको छ।
तासमान हल रहेकै रेस्टप्वाइन्ट होटलमा केहि दिन अघि मात्र नेपथ्य टोली आइपुगेको थियो। टोली आइपुग्नेवित्तिकै नेपालीहरुको सम्मानमा होटलले प्रवेश विन्दुमै रहेको आफ्नो राष्ट्रिय झण्डाको छेवैमा उत्रै आकारको नेपाली झण्डा फहराइ दिएको थियो। ‘नेपथ्य आउनु अगावै हामीले होटल व्यवस्थापनलाई संसारभर फैलिएका नेपालीहरुका निम्ति यस ब्याण्डको महत्व अवगत गराइदिएका थियौं,’ स्थानीय आयोजक टोलीका छत्र थापा भन्छन्, ‘त्यसपछि उनीहरुले नै यसरी झण्डा फहराइ दिने निर्णय गरिदिँदा ब्याण्ड मात्र नभएर यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीले सम्मानित महशुस गरेका छौं।’
निर्धारित समयमै बेलुकी ठीक सात बजे नेपथ्य कन्सर्टको ‘सा कर्णाली’ गीतको म्यूजिक भिडियो पर्दामा बग्न थाल्याे। त्यसपछि कवि तुलसी ‘दिवस’को रचनामा ब्याण्डले हालसालै तयार पारेका नयाँ गीत ‘सम्झिराख’ को भिडियो देखाइयो। लगत्तै सुरुभएको कन्सर्ट अवधिभर नेपथ्यले पुराना र नयाँ गीतहरुको संगालो सुनाएको थियो। ‘नेपथ्यले तासमानियामा बसोबास गर्दैआएका हामीमाँझ एकसाथ पर्वको माहोल र नेपालीपनको बोध गरायाे,’ रोजिना ताम्राकारले भनिन्, ‘कन्सर्टसँगै जमघट हुने विरलै मौका जुराइदिएकामा धन्यवाद पनि दिन चाहन्छौं।’
तीन वर्षअघि गरिएको जनगणनापछि ‘अस्ट्रेलियन ब्यूरो अफ स्टाटिस्टिक्स’ले तासमानिया राज्यमा अंग्रेजी र चिनियाँपछि सबैभन्दा बढी बोलिने भाषा नेपाली भनेर उल्लेख गरेको थियो। आइतबारको कन्सर्टमा दर्शकहरुको हुलमै सन्देश परियार र जयराज घले पनि थिए। ‘हामी हुर्किएको नै नेपथ्यका गीतहरु सुनेर हो,’ जयराज भन्दै थिए, ‘यहाँ पनि बेलाबेलामा कार्यक्रम आयोजना हुँदा हामीले नेपथ्यकै गीत गाएर सुनाउने गरेका छौं।’
तासमानियामा वर्षेनी संगीत र कलाको वृहत ‘डार्क मोफो फेस्टिबल’ आयोजना हुनेगरेको छ। पछिल्लोपटक महोत्सवमा आफूहरुले नेपथ्यकै गीत गाएर सुनाएको जयराज र सन्देशले बताए। ‘जसको गीत गाएर यहाँका दर्शकलाई सुनाउनुमा हामी रमाउँथ्यौं, त्यही ब्याण्डलाई यहाँ पाउँदा कम्ती खुशी लागिरहेको छैन,’ जयराज भन्छन्, ‘यो सपना साकार भएजस्तै क्षण हो।’ होबार्टमै क्रियाशील उनीहरुको ब्याण्डमा जयराज गाउने गर्छन् भने सन्देश गितार बजाउँछन्।
यसवर्ष जारी अस्ट्रेलिया यात्राका दौरानमा तासमानियाको कन्सर्ट श्रृंखलामध्येको चौथो प्रस्तुती थियो। यसअघि ब्रिसबेन, डार्बिन र एडिलेडमा कन्सर्ट सम्पन्न भइसकेका छन्। तासमानियापछि नेपथ्य यात्रा सिड्नीको हुनेछ।
न्यूसाउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा ब्याण्डले डिसेम्बर १४ तारिखमा प्रस्तुती दिनेछ। कन्सर्ट हार्बर ब्रिजकै छेउमा रहेको ‘लुना पार्क’स्थित बिग टप अडिटोरियममा तय गरिएको छ।
यस वर्षको नेपथ्यकाे अस्ट्रेलिया यात्रा मेलबर्नको क्राउन स्थित ‘द पाम्स’ मा पुगेर सकिने छ। यात्रामा मुख्य गायक अमृत गुरुङ, ध्रुव लामा, सुरज थापा, निरज गुरुङ, सुविन शाक्य, शान्ति रायमाझीलगायत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।