धनगढी– सुदूरपश्चिम प्रदेशसभाले २०६५ असोज १२ गते तेघरी जंगलमा राजधानी स्थल तोक्यो। वातावरणीय तथा भौगोलिक हिसावले जोखिम मानिएको यो स्थानलाई सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङको संयोजकत्वमा गठन गरिएको प्रदेश राजधानी तथा नामाकरण उपसमितिले प्रदेशको राजधानी तोकेको थियो।
प्रदेश सरकारले राजधानी तोकेको स्थानबारे अहिले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ।
गोदावरी नगरपालिका वडा नम्बर ४ गाइमाराको राष्ट्रिय वन क्षेत्र मासेर एक पूर्व वनकर्मचारी शिवेश्वर भट्टले टहरा निर्माण गरे। उनकै प्रोत्साहनमा सोही स्थानको डाँडालाई सम्याएर अन्य टहरा पनि निर्माण भए। बुधबारमात्र डिभिजन वन कार्यालय प्रमुख रामचन्द्र कँडेलको नेतृत्वमा गएको टोलीले गोदावरी नदीदेखि फोक्सेडाँडासम्म सडक छेउमा रहेका भौतिक संरचना तथा टहराहरु हटाएको थियो।
उदेक त के भयो भने, टोलीले हटाएको संरचना सोही साँझ नै पुनः निर्माण गरिएको स्थानीयहरुले जानकारी दिएका छन्।
पूर्व वन कर्मचारी शिवेश्वरकै पहलमा गोदावरी नगरपालिका वडा नम्बर ४ गाइमारा क्षेत्रमा टहरा निर्माण गरिएको थियो। वन कार्यालयले टहरा भत्काएपछि शिवेश्वरले टहरा निर्माण नगरे पनि उनले नै ल्याएर बसाएका दुई जनाले भने सोही दिनदेखि टहरा निर्माण गरेर व्यवसाय सञ्चालन गरेको एक स्थानीयले बताए।
गोदावरी नगरपालिका वडा नम्बर १ स्थित मुस्लीम समुदायको मस्जिद पछाडी रहेको सामुदायिक वनमा वनकर्मीकै प्रोत्साहनमा भवन निर्माण गरियो। साविकको जिल्ला वन कार्यालय कैलाली प्रमुख भएर रमेश चन्द आउँदा सो भवन भत्काउने प्रयास अघि बढ्यो। तर, उनले विभिन्न दबाबका कारण सो भवन भत्काउन सकेनन्। उनकै पालामा जिल्लामा वन अतिक्रमण हटाउने अभियान पनि सञ्चालन भएको थियो। तर, सो अभियानले पनि निरन्तरता पाउन सकेन।
२०७५ साल जेठ २५ गते वसन्ता जैविक मार्गको बजैपुरमा पहलमानपुर सेक्टर वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलसहितको ८ जनाको टोली अतिक्रमण हटाउन पुगेको थियो। सो बेला त्यही वस्तीका मानिसले सांघातिक आक्रमण गरेका थिए। सो घटनामा परि रेन्जर रामअवतार चौधरी र वन कार्यालयका सहयोगी महेश चौधरी घाइते भएका थिए।
यी परिघटनाले के देखाउँछन् भने कैलालीमा राजनीतिक दबाब र वनकर्मीकै संलग्नतामा वन अतिक्रमण गर्ने/गराउने क्रम बढ्दो छ।
जिल्लामा वन अतिक्रमण हटाउने तर, कारबाही प्रक्रिया अघि नबढाउने प्रवृतिका कारण वन अतिक्रमण हटाउन चुनौति रहेको एक वन कर्मचारीले बताए। ‘वन कर्मचारीकै प्रोत्साहन र राजनीतिक दलको भोट बैंकका कारण वन अतिक्रमण हटाउन चुनौति रहेकोे छ’ उनले भने, ‘कैलाली वन क्षेत्रका हिसावमा ठुलो भएकाले यहाँ वन प्रमुख बन्न पनि आर्थिक चलखेल हुने गरेको कहिँकतै छिपेको छैन।’
उनको प्रश्न छ, जब प्रमुख नै कमाउनका लागि यहाँ पावर लगाएर आउँछ भने वन कसरी संरक्षण हुन्छ?
कर्मचारीहरुका अनुसार राजनीतिक दलहरुले भोट संरक्षण गराउन जंगल क्षेत्रमै वस्ती बसाउने, वन क्षेत्रको जग्गा व्यक्ति वा संस्थाको नाममा लालपुर्जा उपलब्ध गराउन मालपोत तथा नापी कार्यालयमा दबाब दिने गरेका छन्।
कैलालीको घोडाघोडी नगरपालिकाले शिवशक्ति सामुदायिक वनभित्र नगरपालिकाले गत कार्तिकमा भवन निर्माणका लागि शिलन्यास गर्याे। भवन शिलन्यास भएको हप्तादिनमै वन उपभोक्ता समितिले भवन निर्माणको काम रोकिदिन डिभिजन वनलगायत सम्बन्धित कार्यालयहरुमा निवेदन दिएको थियो।
सव–डिभिजन वन कार्यालय सुखडका प्रमुख समिर थापाले वनको जग्गामा भवन निर्माण कार्य कानुनविपरीत भएको बताए। घोडाघोडी नगरपालिकाले वनको जग्गा भोगचलन नहुँदै भवन निर्माणको काम पनि अघि बढाएको देखिन्छ। उनले भने, ‘जग्गा प्राप्त गर्ने छुट्टै प्रक्रिया हुन्छ। जुन उपभोक्ता समितिसँग सरोकार रहँदैन।’ उनका अनुसार नगरपालिकाले जग्गा प्राप्त गर्ने प्रक्रियाया तथा अन्य बिषयमा वनसँग कुनै छलफल र समन्वय गरेको छैन।
प्राप्त निवेदनका आधारमा तत्काल काम रोक्न नगरपालिकालाई परिपत्र गरी सकेको डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख कृष्ण भट्टले बताए।
कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय वेतालदेउ सामुदायिक वनभित्र बनाउने निर्णय गर्याे। सो जानकारी डिभिजन वन कार्यालय धनगढीलाई भएपछि तत्काल भवन निर्माण नगर्न परिपत्र गरिएको डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले बताए।
वनभित्र कुनै पनि भौतिक संरचना निर्माण गर्न मिल्दैन। तर, जानाजान वनभित्रै गौशाला निर्माण, संस्थागत तथा सरकारी भवन निर्माण हुने क्रम बढेको छ। वन विज्ञ रमेश चन्द ठकुरीले भने, ‘स्थानीय जनप्रतिनिधीनै वन संरक्षणमा लाग्नुको सट्टा वन विनास गर्ने तर्फ बढी केन्द्रीत भएको देखिन्छ।’
कैलालीमा अहिलेसम्म झण्डै २१ हजार एक सय ५४ दशमलव ७७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको तथ्यांक भएपनि डिभिजन वन कार्यालय धनगढी प्रमुख रामचन्द्र कँडेलले झण्डै २५ हजार बढी हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको दाबी गरे। यो तथ्याङ्कले देशभरकै सबैभन्दा बढी कैलाली जिल्लामा वन क्षेत्र अतिक्रमण भएको देखाउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।