एजेन्सी- फिनल्याण्डको सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्रीको रुपमा निर्वाचित भएकी छन्।
यसअघि उनी यातायात तथा सञ्चारमन्त्री थिइन्। ३४ वर्षीया मरिन पाँचवटा पार्टीको संयुक्त गठबन्धनबाट प्रधानमन्त्रीमा मनोनित भएकी हुन्। उनी फिनल्याण्डको नेतृत्व गर्ने अहिलेसम्मकै तेस्रो महिला नेतृ भएकी छन्।
गत अप्रिलमा भएको निर्वाचनपछि फिनल्याण्डको सबैभन्दा ठूलो पार्टीका रुपमा उदाएको सोसियल डेमोक्रेटिक पार्टीबाट उनले प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारी दिएकी थिइन्। प्रधानमन्त्री अन्ती रिन्नीको राजीनामापछि पाँच दलको गठबन्धनमा बन्न लागेको सरकारमा उनलाई प्रधानमन्त्रीको रुपमा चुनिएको थियो।
‘हामीले जनताको विश्वास जित्नका लागि अझ धेरै काम गर्न बाँकी नै छ‚’ निर्वाचित भएपछि उनले पत्रकारहरूसँग भनिन्‚ ‘मैले कहिल्यै पनि मेरो उमेर र लैङ्गिकताका बारेमा सोचिनँ। म राजनीतिमा आउनुको मुख्य कारण भनेकै जनताहरुको मप्रतिको विश्वास हो जस्तो लाग्छ जसको कारणले नै हामीले चुनाव जित्यौं।’
सरकारमा सम्मिलित अरू चार दलको नेतृत्वमा पनि महिला नै रहेका छन्। ‘द लेफ्ट अलाएन्स’ पार्टीको नेतृत्वमा ३२ वर्षीया ली एन्ड्रिसन‚ ‘द ग्रिन लिग’ पार्टीको नेतृत्वमा ३४ वर्षीया मारिया ओहिसालो‚ ‘सेन्टर पार्टी’ को नेतृत्वमा ३२ वर्षीया कात्री कुलुम्नी छिन् भने ५५ वर्षीया अन्ना मजा हेन्रिक्सनले ‘स्वेडिस पिपुल्स पार्टी’ को नेतृत्व सम्हालिरहेकी छन्।
‘हाम्रो ५ दलको गठबन्धन सरकारले हामीलाई अझ एकीकृत गर्नेछ‚’ उनले भनिन्। फिनल्याण्डको बहुचर्चित पत्रिका ‘हेल सिङ्गिन् सनोम्याट र इल्टा सनोम्याटका अनुसार मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री भएकी छन्। न्युजिल्याण्डकी प्रधानमन्त्री ज्याकिन्दा आर्डेर्न ३९ वर्षकी हुन् भने युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्कारुक ३५ वर्षका हुन्। उत्तर कोरियाका नेता किम जोङ उन पनि ३५ वर्षकै भएको जनाइएको छ। २७ वर्षको उमेरमा उनी नगरपरिषदको प्रमुख भएपश्चात उनले आफूलाई एक सफल राजनीतिज्ञको रुपमा चिनाएकी थिइन्।
द गार्जियनबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।