काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकारको उल्लंघन हुन नदिन र उल्लंघन भएमा सोको अनुसन्धान गरी दोषी देखिएको व्यक्तिलाई कानूनको दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्ति तथा न्याय दिलाउन सरकार सक्रिय रहेकाे बताएका छन्।
विश्व मानव अधिकार दिवस अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले मानव अधिकार प्रतिवद्धताको मात्र नभएर आस्था र निष्ठाको विषय पनि भएकाे बताएका छन्। 'मानव अधिकार र संक्रमणकालीन न्यायप्रति नेपाल सरकारको प्रतिबद्धता अनुरुप द्वन्द्वकालीन घटनालाई सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगलाई थप प्रभावकारी बनाउन कानूनी तथा संरचनात्मक व्यवस्थामा आवश्यक संशोधन गरी पीडितलाई न्यायको अनुभूति गराइनेछ।', उनले सन्देशमा भनेका छन्, 'संविधान तथा कानूनद्वारा संरक्षित मानव अधिकारहरुलाई जनताले दैनिक जीवनमा वास्तविक रुपमा महसुश गर्ने वातावरण सिर्जना गर्न नीतिगत व्यवस्था, आवधिक योजना, बजेट, कार्यक्रम तथा राष्ट्रिय कार्ययोजनाको तर्जुमा गरी संघ, प्रदेश र स्थानीय तहको संरचनात्मक माध्यमबाट प्रत्याभूत गर्ने व्यवस्था मिलाइएको छ ।'
मौलिक हकहरुको कार्यान्वयन गर्नका लागि मौलिक हक सम्बन्धी विभिन्न कानूनहरु निर्माण भई कार्यान्वयन भइरहेका उनले बताएका छन्। 'मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नका लागि नेपाल सरकारले राष्ट्रिय मानव अधिकार आयोग लगायतका संवैधानिक आयोगहरु, राज्यका अन्य अंगहरु, संयुक्त राष्ट्रसंघका निकाय, गैरसरकारी संस्था तथा नागरिक समाजसँग समन्वय गरी सहकार्य गरिरहेको छ।' प्रधानमन्त्रीकाे सन्देशमा भनिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।