काठमाडौं- बलिउड अभिनेत्री श्वेता बसु प्रसादले एक वर्षअघि १३ डिसेम्बरमा गोप्य विवाह गरेर सबैलाई अचम्मित बनाएकी थिइन्। तर बिहेको एक वर्षमै श्रीमानबाट अलग्गिने औपचारिक घोषणा गरेकी छन्।
अभिनेत्री श्वेताले इन्स्टाग्राममा एक पोस्ट सेयर गरी पति रोहित मित्तलबाट अलग हुने घोषणा गरिन्।
उनले इन्स्टाग्राममा पोस्ट सेयर गर्दै लेखिन्, 'रोहित मित्तल र म आपसी समझदारीमै अलग्गिने निर्णय गरेका हौं। केही महिनापश्चात् हामीले एक अर्काको भलाइको लागि यस निर्णय गर्न पुगेका हौं।'
'सबै किताब कभरअनुसार पढिने खालका हुन्नन्। कुनै किताब यस्ता पनि हुन्छन् जसलाई अधुरो छाड्न मजा हुन्छ। धन्यवाद रोहित, यति धेरै याद्गार पलका लागि। र मलाई सधैंभरि प्रेरित गरेकोमा। अब तपाईंको जिन्दगी राम्रोसँग बितोस्। तपाईंको सधैंको शुभचिन्तक।'
श्वेताले अघिल्लो वर्ष फिल्म निर्माता रोहितसँग गोप्य तरिकाबाट बिहे गरेकी थिइन्। उनीहरूको बिहे बंगाली रीतिरिवाज अनुसार भयो। बिहेपछि बंगाली पहिरनमा तस्बिर पनि सार्वजनिक भएको थियो।
केही महिनाअघि इटालीमा श्वेता र रोहितको रोमान्टिक तस्बिर पनि भाइरल भएको थियो। जहाँ उनीहरू भ्याकेसन मनाइरहेका थिए।
श्वेताको यो निर्णयले उनका शुभचिन्तक र फ्यानहरूलाई अचम्मित तुल्याएको थियो। श्वेता पछिल्लो समय फिल्म 'द ताशकंद फाइल्स'मा देखिएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।