काठमाडौं- गोरखाको सिरानचोक गाउँपालिका–८ घर भएका ३६ वर्षीय प्रवीणबाबु ढकाल जनप्रशासन क्याम्पस काठमाडौंमा अध्यापन गर्छन्। उनी बल्खुमा रहेको जनप्रशासन क्याम्पसमा करिब ५ वर्षदेखि कम्युटर विषय पढाउँदै आएका थिए।
सोही क्रममा उनको सोही क्याम्पसमा अध्यापन गर्ने पुष्पा घिमिरेसँग चिनजान भएको थियो। उनीहरु दुवै जना त्यसबेला अविवाहित थिए।
उनीहरु बीचको चिनजान प्रेममा परिणत भयो। पारिवारिक सल्लाह बमोजिम नै उनीहरुले २०७३ मंसीर २४ गते विवाह गरे। राजधानीमै रहेको गुहेश्वरी मन्दिरमा उनीहरुको विवाह सम्पन्न भयो।
त्यसपछि पुष्पाले विदेश जानका लागि भनेर भाषा परीक्षा आइएलटिएसको तयारी गरिन्। तर उनीहरुको विदेश जाने सपना पूरा हुन सकेन।
‘आशिंक रुपमा अध्यापन गरेको पैसाले खर्च नपुग्ने भएपछि हामी विदेश जाने तयारी थियौं,’ ढकालले भनेका छन्, ‘तर पुष्पामार्फत विदेश जाने योजना सफल हुन सकेन।’
त्यसपछि भने ढकालले श्रीमती पुष्पाको योजनामै विदेश जाने अर्को तयारी निकाल्छन्, अर्को एक विदेश जाने तयारीमा रहेको युवतीसँग पेपर म्यारिज गर्ने र विदेश जाने।
सोही तयारी अनुसार पुष्पाको समेत चिनजान भएको जनप्रशासन क्याम्पसमै अध्ययनरत एक युवतीसँग पेपर म्यारिजको तयारी हुन्छ। श्रीमतीकै योजना अनुसार उनीसँग पेपर म्यारिजको तयारी गरिएको ढकालको भनाइ छ।
ती युवतीसँग ढकालले काठमाडौं महानगरपालिका- २६ वडामा गएर गत चैत २९ गते विवाह दर्ता समेत गरेका थिए।
उनीहरुले देखाउनकै लागि विवाह दर्ता गरेका थिए। पछि विवाह दर्ता गरिएकी युवतीको भिसा लागेपछि प्रवीणको भने भिसा लागेन। आफ्नो श्रीमती हुँदाहुँदै अर्को युवतीसँग विवाह दर्ता गरेर विदेश जाने उनको सपना तुहियो।
विदेश जाने सपना सफल नभएपछि उनीहरुले काठमाडौं जिल्ला अदालतमा गएर गत विवाह दर्ता गरेको २१ दिनपछि नै सम्बन्ध विच्छेदेको निवदेन दिएका थिए। त्यसपछि गत वैशाख २० गते उनीहरुको सम्बन्ध विच्छेद समेत भएको थियो।
तर कुरा यतिमा मात्रै सीमित रहेन। विदेश जानकै लागि श्रीमतीको योजना र सल्लाहमा अर्की युवतीसँग पेपर म्यारिज गरेका ढकाल अहिले सोही कारण जेल बस्नुपर्ने अवस्था आएको छ।
ढकालकी श्रीमतीले पुष्पाले उनीविरुद्ध बहुविवाह मुद्दा दर्ता गराएपछि उनी अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन्। सुरुमा पुष्पााले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा गत असोज २७ गते बहुविवाहको उजुरी दिएकी थिइन्।
उनले दिएको उजुरीमा भनिएको छ, 'मसँग विहे भएपछि मलाई थाहा नै नदिई अर्को एक युवतीसँग विहे गरेको रहेछ। त्यसपछि मबाट विस्तारै टाढा हुँदै गएको पाएँ। मलाई हेप्ने, कुट्ने, घृणा गर्ने लगायतका काम भएपछि बुझ्दै जाँदा अर्को विवाह गरेको भन्ने चाल पाएपछि बहुविवाहको उजुरी दर्ता गराएको हुँ।’
सोह्रखुट्टे प्रहरीबाट उक्त घटनाको अनुसन्धान सकिएपछि बहुविवाह मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरिएको थियो।
जहाँ ढकाललाई मलुकी अपराध संहिता २०७४ को दफा १७५ को उपदफा (१) को कसुरको सजाय र अर्की युवतीलाई सोही संहिताको दफा १७५ को उपदफा (४) बमोजिमको सजाय माग गरिएको थियो।
तर यस कसुरमा उनीहरुलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षमा थुनामा उठाउनु नपर्ने देखिएको भन्दै साधारण तारखेमा रिहा गरेको थियो। जिल्ला अदालतको फैसलामा भनिएको छ, पुष्पाले पहिलेदेखि नै चिनेकी र उनकै सरसल्लाहमा विदेश जाने योजनाका साथ अर्की युवतीसँग पेपर म्यारिज गरेको देखियो। पेपर म्यारिज गरेको २१ दिनमै सम्बन्ध विच्छेद समेत भएको पाइएकाले ढकालमाथिको आरोप पुष्टि हुन नसक्ने भन्दै साधारण तारखेमा रिहा हुन जिल्ला अदालत कााठमाडौंले गत कात्तिक २१ गते आदेश दिएको थियो।
त्यसपछि ढकाल रिहा भएका थिए। तर उनकी श्रीमती पुष्पाले पुन: उच्च अदालत पाटनमा पुनरावदेन दिएपछि ढकाल अहिले थुनामा छन्।
उच्च अदालत पाटको मंसिरको १९ गतेको आदेशले उनलाई थुनामा पठाएको हो। दोस्रो विवाह दर्ता प्रमाणपत्र समेत हुनले बहुविवाह गरेको पुष्टि भएकाले उनलाई थुनामा पठाउने आदेश जारी गरिएको उच्च अदातल जनाएको छ।
यसरी विदेश सपनामा बहुविवाह गरेका ढकाल अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन्। आफ्नो योग्यताभन्दा ठूलो महत्वाकांक्षाले ढकालले कारागार जान बाध्य भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।