काठमाडौं– नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण सन् २०२० को जुन २६ देखि २८ तारिखसम्म आयोजना हुने भएको छ। अमेरिकाको वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने चौथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ।
महोत्सवमा नेपालका फिचर फिल्म, वृत्तचित्र , छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिनेछन्। नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन्।
प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत गरिने बताइएको छ। महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरु पनि आयोजना हुनेछन्। महोत्सवमा चलचित्र प्रदर्शन पछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने बताइएको छ।
चलचित्रको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरिएको छ । नेपालका चलचित्रकर्मीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।