काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिनको अध्यक्षता ज्येष्ठ सदस्यलाई गराउने तयारी गरेको छ। अधिवेशन सुरु हुनुअघि नै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई समेत राजीनामा गराएर संसदको अध्यक्षता ज्येष्ठ सदस्यलाई गराउने निष्कर्षमा नेकपाका शीर्ष नेताहरु पुगेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुष ४ दिउँसो ४ बजेका लागि संघीय संसद अन्तर्गतका दुवै सभाको अधिवेशन बोलाएकी छिन्।
तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दा लागेपछि सभामुख पद रिक्त भएको थियो। हिउँदे अधिवेशन सुरु हुनु केही दिनअघि नै उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरिएको नेकपाका एक नेताले जानकारी दिए।
उपसभामुखको राजीनामाले सभामुखको निर्वाचन सहज र आफू अनुकूल हुने नेकपा नेताहरुको बुझाइ छ।
सभामुख नभएको अवस्थामा उपसभामुखले कसलाई राजिनामा दिने भन्ने प्रश्नको उत्तर नेकपाले नेतृत्वले भेटिसकेको छ। नेकपाका ‘उपसभामुखले सभामुख ‘समक्ष’ होइन, सभामुखलाई ‘सम्बोधन’ गरेर राजीनामा दिने कानुनी व्यवस्था छ। त्यसैले उहाँलाई पहिल्यै राजीनामा गराउन सकिने विषयमा विवाद रहेन’, एक नेताले भने।
पुष ४ गतेको बैठकमा सभामुख र उपसभामुख दुवै पद रिक्त रहेको जानकारी गराउने र पुष ६ गते निर्वाचनको प्रक्रिया थाल्ने नेकपाका शीर्ष नेताको तयारी छ।
उपसभामुख तुम्बाहाम्फेले भने पहिलो दिनको अध्यक्षता आफूले गर्ने मनशाय राखेकी छिन्। निर्वाचन प्रक्रिया सुरु भएसँगै राजीनामा दिने उनको सोच छ। उनले भनिन्, ‘निर्वाचन प्रक्रिया र मेरो राजिनामा सँगसँगै हुन्छ।’
सभामुखका लागि सत्तारुढ नेकपाले अझै उम्मेदवार टुंग्याउन सकेको छैन। आफूलाई सभामुखका रुपमा पार्टीले अघि बढाउनु पर्ने अडानमा रहेकी उपसभामुख तुम्बाहाम्फे त्यसैको सुनिश्चितता खोजिरहेकी छिन्। उपसभामुखमै निरन्तरता नदिने कुरामा भने उनी प्रष्ट छिन्। पार्टीले सभामुख नै प्राप्त गर्ने भएका कारण उपसभामुखबाट भने मार्ग प्रशस्त गरिदिने बताइन्।
सभामुखले नै बोलाउने व्यवस्था भएको संसदको कार्य व्यवस्था समितिको बैठक भने उपसभामुखको हैसियतमा आफूले नै बोलाउने उनले जानकारी गराइन्। उनले भनिन्, ‘कसले अध्यक्षता गर्ने? अधिवेशन कसरी अघि बढाउने? भन्ने कुरा कार्यव्यवस्थाको बैठकपछि थाहा हुन्छ।’
कार्य व्यवस्थाको बैठकमा अधिवेशनको सुरु उपसभामुखले गर्नेगरी सहमति जुटाउन सकिने उनको विश्वास छ। उक्त बैठकपछि राजीनामा दिएर सभामुख र उपसभामुख निर्वाचनको प्रक्रिया सुरु गर्ने तयारी उनले गरेकी छिन्।
हिउँदे अधिवेशनका लागि संसद सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको उपसभामुख तुम्बाहाम्फेले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।