जनकपुर- १३ औँ दक्षिण एशियाली खेलकुद (साग) उद्घाटनको राती चौरमा छुटेको पटाकाबाट घाइते भएका बालकको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ।
जनकपुरधाममा आयोजित १३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको उद्घाटन समारोहमा राती गरिएको आतिसबाजीका (पटाका पडकाउने) क्रममा चौरमा छुटेको एउटा पटाका बिहान स्थानीय एक बालकले भेट्टाएर पड्काएका थिए।
पटाका पड्काउने क्रममा शरीरमा आगो लागेर बालक घाइते भएका थिए। घाइते बालकको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ।
जनकपुर उपमहानगरपालिका-१३ स्थित कबर्ड हलनजिकै घर भएका निर्मला राउतका १० वर्षीय छोरा आलोक राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहले बालक राउतको धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए।
मंसिर २० गते कुस्ती खेलको उद्घाटनका क्रममा नपड्केकाे पटाका बालकले घरमा लगी खेलाउँदा सोही दिन बिहान विस्फोट भएको थियो। पटाका विस्फोटबाट बालकको पेटमा आगो लागेर गम्भीर घाइते भएपछि उपचारका लागि धरान लगिएको थियो।
यस्ता लापरबाहीले बालकले ज्यान गुमाउनु परेको स्थानीयले आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।