काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)ले भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पुर्याउने छ भन्ने विश्वास लिएको बताएका छन्।
साग समापन समारोहका अवसरका आफ्नो भिडियो सन्देशमा प्रधानमन्त्रीले सम्बद्ध सबै पक्षलाई धन्यवाद पनि दिएका छन्।
यस्तो छ प्रधानमन्त्रीको सम्बोधनः
दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एसियाली खेलको अत्यन्तै ठूलो महत्व छ। यो खेल आजैबाट सफलतापूर्वक सम्पन्न हुँदैछ। म खुसी व्यक्त गर्न चाहन्छु– भूकम्पबाट ध्वस्त भएका संरचनाहरू तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ। यसपल्टको खेलमा पहिले कहिल्यै भन्दा बढी खेलाडीको सहभागिता, पहिले कहिल्यै भन्दा बढी खेलहरूको संलग्नता रहेको छ। पदकहरू पनि यस पटकको तेह्रौं साग गेममा पहिले भन्दा धेरै रखिएका छन्। समग्रतामा भन्दा यो सफल र ऐतिहासिक खेलकूद रहेको छ।
यसले, अर्थात् दक्षिण एसियाली खेलकूदले दक्षिण एसियाली देश र जनताका बीचमा एकता र मित्रता अभिवृद्धि गर्ने कुरालाई अपेक्षा गरिएको थियो, त्यो अपेक्षा यस पटकको तेह्रौं दक्षिण एसियाली खेलकूदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको छ। यस सन्दर्भमा म संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई भन्न चाहन्छु। र, धन्यवाद भन्न चाहन्छु।
काठमाडौं, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकूद प्रतियोगिता सञ्चालन हुनु र सफलतापूर्वक दक्षिण एसियाली खेलकूदको सुखद् समापनमा हामी आइपुग्नु ज्यादै खुसीको कुरा हो। यस सन्दर्भमा यस सफलताका लागि योगदान गर्नुहुने नेपाल लगायत सबै सहभागी देशका सरकारहरू, खेल क्षेत्र, खेलाडीहरू, प्रशिक्षकहरू, सबैलाई म धन्यवाद भन्न चाहन्छु। अत्यन्तै भब्य रूपमा सफल भएको यस दक्षिण एसियाली खेलकूदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पुर्याउने छ भन्ने मैले विश्वास लिएको छु। यस खेलमा सहभागी विभिन्न मित्र देशका खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्ने गरी योगदान गर्नुहुने छ भन्ने मैले अपेक्षा गरेको छु।
आयोजक राष्ट्रका खेलाडीको हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्रभागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीहरूले यस खेलमा गरेका छन्, म नेपाली खेलाडीहरूलाई त्यसका निम्ति हार्दिक धन्यवाद भन्न चाहन्छु। जुन सफलता प्राप्त भएको छ, सफलता प्राप्त गर्ने सबै खेलाडीहरूलाई बधाई भन्न चाहन्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।