कुवेतको अस्पतालमा ढलिरहेको गंगाबहादुरको सपना

निर्मला घिमिरे | २०७६ मङ्सिर २५ बुधबार | Wednesday, December 11, 2019 ०६:००:०० मा प्रकाशित

काठमाडौं- ‘उहाँले मलाई नै चिन्नुहुन्न, केही पनि बोल्नु हुन्न,’ नेपाल लाइभसँगको संवादमा खोटाङ बराहपोखरी गाउँपालिका-२ की दिलकुमारी मगरले खिन्न स्वरमा भनिन्। 

२०७५ वैशाख ९  गते पसिनासँग खुसी साटेर फर्किने वाचा गरेर  कुवेत उडेका दिलकुमारीका श्रीमान गंगाबहादुर १४ महिनादेखि कुवेतको अलजह्रा अस्पतालको बेडमा अचेत अवस्थामा छन्। 

गंगाबहादुर कुवेत पुगेको ५ महिना बितेको थियो। काम र कमाइ ठिकै थियो। कुवेत जाँदा लागेको ऋण तिर्न पुग्ने पैसा पनि पठाउन सकेका थिएनन् गंगाबहादुरले। 

फोकस नेपाल ओभर्सिस प्रालिमार्फत् कुवेत पुगेका गंगाबहादुर कुवेतमा कम्बाइन्ड ग्रुप कन्ट्रयाक्टिङ कम्पनीमा कार्पेन्टरको काम गर्थे। तलब मासिक ९५ केडी थियो। 

‘खाने बस्ने खर्च पनि आफैँले तिर्नुपर्छ, कमाएको पैसा बचाउन सकिरहेको छैन’, गंगाबहादुरले दिलकुमारीलाई फोनमा सुनाउँथे। 

सँगै बाँच्ने, सँगै मर्ने कसम खाएर विवाह बन्धनमा बाँधिएका उनीहरुलाई केही समयपछि नै परिस्थितिले टाढा बनाइदिएको थियो।

केही वर्ष परदेशमा कमाइ गर्ने र पछि सँगै बसेर केही व्यवसाय गर्ने सोच थियो उनीहरुको। 

दिलकुमारी खेतबारीमै काम गर्थिन्। छोराछोरीको रेखदेख गर्थिन्। थोरै पुर्ख्यौली बारी थियो। त्यही बारीमा काम गर्थिन्। 

गंगाबहादुर र दिलकुमारीबीच फोन सम्वाद बेलाबेलामा भइरहेको थियो। 

१७ सेप्टेम्बर २०१८ (२०७५ असोज १ गते) बिहानै गंगाबहादुरकै नम्बरबाट फोन आयो। त्यो फोन आफ्नै श्रीमान गंगाबहादुरको हो भनेर दिलकुमारीले ढुक्कसाथ रिसिभ गरिन्। 

हेलो, दिलकुमारी भाउजु बोल्नु भएको हो?

'हो', दिलकुमारीले जवाफ फर्काइन्। 

‘भाउजु, दाइ आज, ड्युटीबाट फर्कँदै गर्दा दुर्घटनामा पर्नुभएछ, बिरामी हुनुहुन्छ, उहाँलाई अस्पताल लगिएको छ, त्यसैले भाउजुलाई खबर गर्नुपर्यो भनेर फोन गरेको भाउजु अतालिनु पर्दैन दाजुको उपचार हुँदैछ।’

फोनको आवाजपछि दिलकुमारी अचेत भएर ढलिन्। त्यसपछि फोन कतिबेला काटियो उनलाई थाहा भएन। 

गंगाबहादुरको दुर्घटनाको खबरले अचेत भएकी दिलकुमारीको होस् केही बेरमा खुल्यो, तर गंगाबहादुर १४ महिनासम्म अचेत अवस्थामै छन्। 

‘उहाँको बोली सुन्न नपाएको त यति धेरै भइसक्यो‚ उपचार भइरहेको छ भनेर सुन्ने बस्नेमात्रै हो। देख्न पाउने कहिले कहिले‚’ दिलकुमारी गुनासो गर्छिन्। 

घरमा गंगाबहादुरकी बुढी आमा छिन्। उनका बुबा उनी सानै छँदा बितिसकेका हुन्। 

‘छोराको दुर्घटनाको खबरले आमाले धेरै दिन खाना पनि खानुभएन, त्यो दिनदेखि परिवारको खुसी नै लुटियो‚’ यतिभन्दै गर्दा सुँक्सुकाउँछिन् दिलकुमारी। 

‘उहाँले दिलकुमारी के छ खबर‚ आमा र छोराछोरीको खबर के छ भनेर कहिले भन्नुहुन्छ होला‚’ आफैँलाई अनुत्तरित प्रश्न तेर्स्याउँछिन् र एकछिन मौन हुन्छिन् उनी। 

दिलकुमारीलाई ३ महिनाको सुत्केरी अवस्थामा छाडेर खुसी बोकेर परदेशबाट फर्किने सपना बुनेका गंगाबहादुरको सपना पनि अस्पतालको बेडमा अचेत अवस्थामै ढलिरहेको छ। 

‘बाबा कुवेत जाँदा छोरी सानै थिई, बाबाको अनुहार कस्तो छ सानी छोरीले चिन्दिन‚’ दिलकुमारी सुनाउँछिन्। 

गंगाबहादुर अचेत भएर अस्पतालमा ढलिरहेको अवस्थामा भिडियो कलमार्फत् दिलकुमारीले गंगाबहादुरलाई हेरेकी छन्। ‘एकजना गाउँको दाइ पनि कुवेतमै हुनुहुन्छ, उहाँ अस्पताल गएको बेलामा भिडियो कल गरेर देखाउनु भएको थियो‚’ दिलकुमारीले सुनाइन्।

भिडियो कलमा अचेत अवस्थामा रहेका गंगाबहादुरलाई उनी‚ आमा सितामाया मगर र छोराछोरी सबैले देख्न पाएका थिए। 

‘आमाले छोरा बोल त भनेर फोनमै भन्नु भयो, रुनु भयो तर उहाँ बोल्दै बोल्नु भएन‚’ दिलकुमारी भन्छिन्। श्रीमानलाई भिडियोमा देख्दा उनी चुपचाप अस्पतालको बेडमा सुतिरहेका थिए। ‘आँखा खोल्नु भएको थियो एक पटक तर, उहाँले मलाई चिन्नु भएन, राम्रोसँग हेर्नु पनि भएन‚’ दिलकुमारीले दुःखी हुँदै सुनाइन्। 

जीवन मरणको दोसाँधमा अस्पतालको बेडमा आफ्नै जीवनसँग संघर्ष गरिरहेका गंगाबहादुर फेरि फिर्लान् कि नफिर्लान् कसैलाई थाहा छैन। 

भगवान् भरोसामा रहेर परिवारले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् तर गंगाबहादुरको होस् आएको खबर सुन्न पाएका छैनन्। गंगाबहादुरले दिलकुमारी मात्रै भनेको सुन्न चाहन्छिन्, गंगाबहादुरकी श्रीमती दिलकुमारी अनि गंगाबहादुरले आमा भनेर बोलाएको सुन्न चाहान्छिन् उनकी आमा। 

आफन्त, परिवार र छोराछोरीहरु पनि सुन्न चाहन्छन् गगांबहादुर पहिले जस्तै बोलेको। ‘गाउँमा खासै नेट चल्दैन, दाइसँग पनि कुरा हुन पाएको छैन, अहिले उहाँलाई कस्तो छ पनि थाहा छैन, कसैले खबर गरेको छैन‚’ दिलकुमारीले भनिन्। 

कुवेत गंगाबहादुरको वैदेशिक रोजगारीको पहिलो गन्तव्य मुलुक भने होइन। विवाह गरेको ७ वर्षसम्म दिलकुमारी र गंगाबहादुर खेतबारीकै काम गरेर जीवन गुजारा गरिरहेका थिए। त्यसबेला उनीहरुका एक छोरा र एक छोरी गरी दुई सन्तान थिए। 

सन्तान थपिएसँगै गंगाबहादुरले आफूमाथि जिम्मेवारी थपिएको महसुस गरे। त्यसपछि गंगाबहादुरले परदेशको यात्रा तय गर्ने सोच बनाए। सन् २०१२ मा गंगाबहादुर रोजगारीका लागि कतार हानिए। कतारमा ओसेनिक इन्जिनियरिङ वेल कम्पनीमा जेनरल वर्करका रुपमा पुगेका उनी कतारमा भनेजस्तो काम नभएपछि दुई वर्षको करार अवधिमा फर्किएका थिए। 

सन् २०१५ मा उनी साउदी पुगेका थिए। साउदीको खालिफा कम्पनीमा लेवर काम गर्थे। तलब ८ सय साउदी रियालमात्रै थियो। खान बस्न आफै व्यवस्था गर्नुपर्ने थियो। 

भनेजस्तो कमाइ थिएन। करारनामा पत्रमा भएको सेवासुविधासमेत नभएपछि २ वर्ष करार अवधि मुस्किलले कटाएर गंगाबहादुर नेपाल फर्किए। ‘दुई वर्ष साउदी बस्दा बल्लबल्ल साउदी जाँदा लागेको ऋण तिर्न पुगेको थियो‚’ दिलकुमारीले सुनाइन्। 
साउदीबाट फर्किएपछि झण्डै डेढ वर्ष गंगाबहादुर घरमै बसेका थिए। त्यसैबेला उनकी कान्छी छोरी पनि जन्मिइन्। ३ महिनाकी छोरी छाडेर गंगाबहादुर कुवेत हिँडे। 

‘पारिवारिक अवस्था निकै कमजोर थियो, साउदीमा कमाइ नभएपछि अर्को मुलुक जानुको विकल्प थिएन त्यसपछि उहाँ कुवेत जानु भयो।’ दिलकुमारीले सुनाइन्। 
कुवेत जाँदा पनि २ लाख ऋण लागेको थियो। 

‘एकातिर साहुको ऋणले थिच्यो, अर्कातिर उहाँको अवस्था गम्भीर छ, सन्चो हुने हो कि नहुने हो थाहा छैन।’ दिलकुमारीको गला अवरुद्ध भयो। 

‘छोराछोरी बढ्दै गएपछि खर्च पनि बढ्ने भयो, आफूले राम्रोसँग पढ्न नसके पनि छोराछोरी पढाउनु पर्यो यस्तै कुरा सोचेर उहाँ कुवेत जानु भएको थियो’ दिलकुमारी भन्छिन्।  
‘पढाइ पनि धेरै थिएन, साउदीमा काम राम्रो नभएपछि दुई वर्षपछि नेपाल फर्कनुभएको थियो, फेरि कुवेतमा राम्रो काम छ रे भनेर जानुभयो‚’ दिलकुमारीले भनिन्। दिलकुमारी र गंगाबहादुरले माध्यामिक तहसम्म अध्ययन गरेका थिए। दुवैले सँगै पढ्दा पढ्दै विवाह गरेकाले विवाहपछि उनीहरूले पढाइ छाडेका थिए। 

गंगाबहादुकै कमाइसँग आश्रित उनको परिवारको यतिबेला बिचल्ली भएको छ।  

‘कुवेत जाँदा लागेको ऋण माग्न साहु घरमा आउँछन्, कहाँबाट ल्याएर दिने?’ दिलकुमारी आफैँले आफैँसँग प्रश्न गर्छिन्। ३ छोराछोरी पढाउने हुर्काउने जिम्मेवारी दिलकुमारी एक्लैलाई थपिएको छ। ‘एकातिर श्रीमानको चिन्ता अर्कोतिर छोराछोरी र परिवारको,यसरी पनि बाँच्नै पर्ने रहेछ‚’ दिलकुमारी थप्छिन्। 

गाडीको ठक्करबाट शरीरका विभिन्न भागलगायत टाउकोमा गहिरो चोट लागेर बेहोस बनेका गंगाबहादुरको शारीरिक अवस्था सुधार भएपनि होस भने अझै खुल्न सकेको छैन।

१४ महिनादेखि उनीसँग उनको सपना अस्पतालको कोमामा अचेत अवस्थामा ढलिरहेको छ।