काठमाडौंं- नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको पहिलो त्रैमासमा गरिएको वर्गीकरण संशोधन गरिएको छ।
चालूआर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिना अवधिमा वर्गीकरणमा परेका कम्पनीहरुको सूची नेप्सेले गत कात्तिक ७ गते सार्वजनिक गरेको थियो।
नेप्सेको उक्त वर्गीकरणमा सनराइज बैंकलाई मात्र ‘क्लास ए’ कम्पनीमा सूचीकृत गरिएको थियो। तर, धितो सूचीकरण विनियमावली २०७५ को विनियम ११ को उपविनियम ९ मा सूचीकृत कम्पनीले बर्गिकरणमा पर्नुपर्ने कारण र दावी सहितको आवेदन दिन पाउने व्यवस्था रहेकोमा नेप्सेले आवेदन माग गरेको थियो।
यसरी आएको आवेदनको अध्ययनपछि नेप्सेले थप ९ वटा कम्पनीलाई ‘क्लास ए’ कम्पनीका रुपमा सूचीकृत गरेको छ। संशोधनपछि १० वटा कम्पनी ‘क्लास ए’ कम्पनीका रुपमा नेप्सेमा सूचीकृत भएका छन्।
परिमार्जित सूचीअनुसार सिटिजन्स इन्टरनेसनल बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया र स्टाण्डर्ड चार्टड्स बैंक क्लास ‘ए’ कम्पनीका रुपमा सूचीकृत भएका छन्। त्यस्तै मुक्तिनाथ विकास बैंक यो श्रेणीमा पर्ने एउटा मात्र विकास बैंक हो।
‘क्लास बी’ कम्पनीमा ङादी पावर कम्पनी लिमिटेड मात्र सूचीकृत छ। त्यस्तै ‘क्साल जी’मा ३५ वटा कम्पनी सूचीकृत भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।