श्रमिकका समस्या सम्बोधनका लागि नेपाली टोली मलेसियामा

नेपाल लाइभ | २०७६ मङ्सिर २५ बुधबार | Wednesday, December 11, 2019 ११:५५:०० मा प्रकाशित

काठमाडौं– नेपाली श्रमिकका समस्या सम्बोधनका लागि सरकारी टोली मलेसिया गएकाे छ। परराष्ट्र र श्रम मन्त्रालयका प्रतिनिधिहरु सहभागी टोली मलेसिया गएकाे हाे। 

शून्य लागतको श्रम समझदारी कार्यान्वयनलगायत श्रमिकका हक अधिकारका विषयमा छलफलका लागि टोली मंगलबार मलेसिया प्रस्थान गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए।

परराष्ट्र मन्त्रालयका सहसचिव हरिषचन्द्र घिमिरेको नेतृत्वमा श्रम मन्त्रालयका प्रतिनिधिहरु, वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालसहितको टोली मलेसिया गएको हो। 

मलेसिया र नेपालबीच अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको मापदण्डअनुसार शून्य लागतमा नेपाली श्रमिकहरु जान पाउने २०७५ कार्तिक १२ गते समझदारी भइसकेको छ। तर, शून्य लागतको समझदारी भएपनि नेपाली श्रमिकहरु लाखौँ रकम तिरेर मलेसिया गइरहेका छन्।

मलेसिया पुगेका श्रमिकहरुले समझदारीअनुसार पारिश्रमिकलगायत सेवासुविधा पाउन नसकेको गुनासो कायम नै छ। यस्ता सबै खालका समस्या सम्बोधन गरी समाधानका लागि कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयका अधिकारीसहितको नेपाली टोली मलेसिया गएको श्रम मन्त्रालयले जनाएको छ।