काठमाडौं– बाजुराबाट प्रतिनिधित्व गर्ने प्रतिनिधी सभाका सांसद लालबहादुर थापाले विकासमा सरकारले अघि सार्ने हचुवा मोडेलको विरोध गरेका छन्। योजना तर्जुमा गर्दा मानव विकास सूचकांक नहेर्ने सरकारी कर्मचारीको ‘भाइरल’ मनोवृत्तिको उनले संसदीय समितिमा आलोचना गरेका हुन्। पछि परेको क्षेत्र हेर्दा कर्णाली मात्रै ठान्ने गरिएको बताउँदै मानव सूचकांकमा ७७ औं स्थानमा रहेको बाजुरालाई पनि हेर्न सुझाए।
मानवअधिकार सम्बन्धि पाँचौ राष्ट्रिय कार्ययोजनामाथि कानुन, न्याय तथा मानवअधिकार समितिमा छलफल गर्ने क्रममा उनले मानव विकास सूचकांकमा सवैभन्दा पछि रहेका जिल्ला र क्षेत्रलाई नहेरिएको बताए।
सोही कार्ययोजनाको उदाहरण दिँदै उनले भने, ‘संस्थागत सुदृढिकरणको ९ नम्बरमा कर्णाली उल्लेख छ । तर, मानव विकास सूचकांकमा सवैभन्दा पछि रहेको मेरो जिल्ला (बाजुरा) जस्ता क्षेत्रका बारेमा केही उल्लेख छैन।' पछि परेको भनेकै कर्णाली भन्ने योजना तर्जुमा गर्नेको दिमागमा रहेकाले यस्तो भएको बताए । यस्तो बताइरहनुको अर्थ कर्णालीलाई पारिन नहुने भनेको नभइ विकास सूचकांकमा ७७ औं स्थानमा भएको बाजुरा पनि राख्न जोड दिएको स्पष्टिकरण दिए।
विकास योजनामा मानव विकास सूचकांकमा अघि रहेको र पछि रहेकोलाई उस्तैगरी राख्ने प्रवृत्तिको समेत उनले विरोध गरे। उनले विकासको मूलधारमा नआएका क्षेत्र, वर्ग र भुगोललाई प्राथमिकतामा पार्नेगरी योजना बन्नुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।