काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसिरहेको छ।
बिहीबारबाट बस्ने केन्द्रीय समितिमा प्रस्तुत हुने विषयमा छलफल गर्न बैठक बसिरहेको छ। केन्द्रीय समितिको बैठकमा उपनिर्वाचनको समिक्षा हुने बताइएको छ।
सभापति देउवाले विभाग गठनको प्रस्ताव पनि केन्द्रीय समिति बैठकमा गर्नेछन्। केन्द्रीय समितिको बैठक कम्तिमा ५ दिन बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
शर्माका अनुसार पार्टी सभापतिले बिहीबारबाट सुरु हुने बैठकमा कार्यसम्पादन समितिको प्रस्ताव पनि पेश गर्नेछन्।
भंग भएको नेविसंघमा तदर्थ समिति र कार्यावधि सकिएको तरुण दलको गठनका विषयमा पनि छलफल हुनेछ। निर्वाचन समितिले तल्लो तहको कार्यसमिति गठनमा गरेको प्रगति पनि केन्द्रीय समितिमा पेश हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।