उपनिर्वाचनको जगमा ०७९ को चुनावलाई मिसन बनाएर अघि बढ्छौंः प्रवक्ता शर्मा [अन्तर्वार्ता]

नेपाल लाइभ | २०७६ मङ्सिर २५ बुधबार | Wednesday, December 11, 2019 १६:४२:०० मा प्रकाशित

मंसिर १४ को उपनिर्वाचनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा उत्साह थपेको छ। ५२ स्थानमा भएको उपनिर्वाचनमा भक्तपुर, धरान र चितवनको जितले कांग्रेसलाई राहत दियो। उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई विजयी बनाउन सर्वाधिक खट्नेमा प्रवक्ता विश्वप्रकाश शर्मा देखिए। भिडियो सन्देशसहित दिनहुँ सरकारका असफलताको प्रेस विज्ञप्ति निकालेर कांग्रेसलाई मत बटुल्न सक्रिय रहे। उपनिर्वाचन हुने अधिकांश क्षेत्रमा पुगे। समीक्षाका क्रममा रहेको उपनिर्वाचनका विषयमा केन्द्रित रहेर नेपाललाइभका लागि लिलु डुम्रेपुष्पा केसीले प्रवक्ता शर्मासँग सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा गरेको वार्ता:

परिणाम आएलगत्तै तपाईंले निर्वाचनको समीक्षा सार्वजनिक गर्नु भएको थियो। त्यो नै अन्तिम हो कि आसन्न केन्द्रीय समिति बैठकले पनि थप समीक्षा गर्छ ?

उपनिर्वाचन सम्पन्न भएपछि करिब १० दिनपछिको समय अर्थात् मंसिर २६ गते केन्द्रीय कार्य समितिको बैठक तय छ। बैठकमा ३७ जिल्लाका ५२ स्थानमा भएको निर्वाचनमा विभिन्न स्थानमा खटिएका पार्टीका जिल्ला समितिले निर्वाचन समीक्षाको गहिरो प्रतिवेदन पठाउनेछन्। निर्वाचनमा खटिएका केन्द्रीय प्रतिनिधिले प्रस्तुत गर्छन्। त्यसमा केन्द्रीय कार्य समितिका सदस्यहरूले राय व्यक्त गर्नेछन्। नेपाली कांग्रेसको अन्तिम चुनावी समीक्षा त्यसपछि आउँछ। 
तर, एउटा जिवन्त राजनीतिक दलले निर्वाचन सकिएलगत्तै केन्द्रीय कार्यसमितिको बैठक नबस्दा पनि प्रारम्भिक समीक्षा गर्नुपर्ने कर्तव्य हुन्छ। प्रवक्तामार्फत् पार्टीको  प्रारम्भिक समीक्षा पनि सार्वजनिक भएको छ। 

प्रारम्भिक समीक्षामा भन्दा थप के–के विषय केन्द्रीय समितिको बैठकले बाहिर ल्याउँला ?

निश्चय नै। सुरुमा हामीले जे राख्यौं, मुल रुपमा सबैले त्यही बोल्नुहुन्छ भन्ने मलाई लाग्छ। किनभने नेपाली कांग्रेस पार्टीलाई पनि यो निर्वाचनले यो सन्देश दिएको छ। कांग्रेसले अन्तरविश्वास बढाउने र बाहिर गति बढाउन जरुरी छ। 

कांग्रेसले अझै आफूलाई रुपान्तरणका लागि गति दिएर, सांगठनिक सुदृढीकरणको अभियानलाई अझ प्रभावकारी बनाएर आगामी निर्वाचनमा मुलुकलाई सम्हाल्ने गरी जानुपर्छ भन्ने सन्देश प्राप्त भएको छ। 

यो निर्वाचन सरकार बनाउनका लागि वा सरकार बदल्नका लागि थिएन। तर मतदातालाई हामीले अपिल गरेका थियौं, ‘तपाईंले दिने एक मतले सरकारलाई सच्याउन सन्देश दिन सक्छ।’ मतदाताले दिएको मतले त्यो सन्देश पनि दिएको छ। सरकारका लागि पनि केही सन्देश छ। हाम्रा लागि पनि सन्देश छ। त्यो समीक्षा हामीले सार्वजनिक गरेका छौं। 

सरकारलाई सच्याउने गरेरै मत दिएको कांग्रेसको निष्कर्ष होे?

मतदाताले मत दिदैं गर्दा सरकार गठन भएको २१ महिना १० दिन पुगेको थियो। जनताले सरकारको समग्र समीक्षा ४ वर्षको कामलाई हेरेर गर्ने हो। पाँचौं वर्षलाई हिसाब नगरौं। पाँचौं वर्ष निर्वाचनको वर्ष हो। समग्र चार वर्ष हेर्ने हो। चार वर्षको समीक्षा गर्न समय बाँकी छ। तर पाँच वर्षकै समय मान्ने हो भने पनि २१ महिना दुई तिहाई सरकारको समयावधिको एक तिहाई समाप्ति हो। त्यसैले यो समयावधि बीचमा  नागरिकहरू सरकारसँग सम्पूर्ण रुपले सन्तुष्ट रहेको अवस्था हुने थियो। त्यही ढङ्गले मत प्राप्त हुने थियो। 

नेपाली कांग्रेसलाई मत दिँदै गर्दा प्रतिपक्षको रुपमा कति जिम्मेवार भूमिका निर्वाह ग¥यो, कति सालिन र रचनात्मक गर्‍यो भन्ने मूल्यांकन पनि मतदाताले गर्न पाएका छन्। 

त्यसैले मतदाताले दिएको मतको विश्लेषण पार्टीमार्फत् प्रवक्ताका रुपमा मैले राख्दैं गर्दा कांग्रेस अझै रुपान्तरण होस् भनेर मतदाताले सन्देश दिएका छन्। तर कांग्रेसको दुई वर्षे प्रतिपक्षको भूमिकालाई मतदाताको मतले अनुमोदन गरेको छ। र, सरकारको सन्दर्भमा असन्तुष्टिको मत जाहेर गरेको छ। नेकपा र कांग्रेसबीच २०७४ सालको मतान्तरलाई घटाएर मतदाताले सन्देश दिएका छन्। 

उपनिर्वाचनमा तपाईंको सक्रियता बढी नै थियो। ‘थिंक बिफोर भोट’ को नारासहित दिनहुँजस्तै भिडियो र प्रेस विज्ञप्ति सार्वजनिक गर्नुभयो। त्यो कति लाभदायी भयो?

कांग्रेसले ‘मिसन २०७९ का लागि मैदान मंसिर १४’ भन्ने आन्तरिक कन्सेप्ट बनाएको थियो। मंसिर १४ को मैदानमा अभ्यास गर्ने र यसको टार्गेट २०७९ सालको निर्वाचनलाई लिइएको थियो। कांग्रेसको सामाजिक सञ्जाल र मिडियाको मुभ एकदम व्यापक भयो म भन्न सक्दिनँ। निश्चय पनि कम्युनिष्ट पार्टीभन्दा सामाजिक सञ्जाल र मिडियाको मुभमा हामी एक कदम अगाडि भयौं। एक कदममात्र होइन निरन्तर एक–एक कदम चाल्दै निरन्तर अगाडि जाने हो। तर, अहिले एकदम धेरै भयो भन्दिनँ। हामी माइनसबाट जिरोमा आइपुगका छौं।

अब जिरोबाट एक, दुई, तीन गर्दै हिडेर आगामी निर्वाचनमा पुग्दै गर्दा हामी प्रभावकारी र सशक्त ढङ्गले सामाजिक सञ्जाल र मिडियाको मुभमा कम्युनिष्ट पार्टीभन्दा राम्रो ढङ्गले अगाडि आउँछौं। 

मत परिणामले कांग्रेस र सत्तारुढ दल हौसिनुपर्ने कारण छैन भनिँदैछ। तपाईंले नेकपालाई ‘अहिले सच्चिने कि भोलि सक्किने’ अभिव्यक्ति दिनुभयो?

बिल्कुल होइन। किनभने एउटा जिम्मेवार राजनीतिक दलले प्रतिपक्षका रुपमा सरकारलाई सल्लाह दिने पनि हो नि त। तपाईं सच्चिनु भयो भने तपाईं सक्किनु हुन्न भन्ने पनि हो नि त। सँगै लिखित वक्तव्यमा पनि मैले आज सच्चिने कि भोलि सक्किने भनेर अन्तिम लाइनमा सक्किने भनाईको अर्थ भोलि योभन्दा अझ प्रतिकूल परिणाम प्राप्त हुने छ है भन्ने विषय प्रस्ट्याई रहनु नपर्ला। किनभने लोकतन्त्रमा कुनै पनि राजनीतिक दलको समाप्तिको परिकल्पना गरिँदैन। लोकतन्त्रमा गलत प्रवृत्ति समाप्तिको परिकल्पना गरिन्छ। तर व्यक्ति वा कुनै पनि संस्थाको समाप्तिको परिकल्पना गरिदैंन। त्यसैले सक्किनुको अर्थ अहिलेको जुन तागत हो त्यो तागत, अहिलेको जुन बहुमत छ त्यो बहुमत, अहिले कम्युनिष्ट पार्टीको जुन दबदबा छ त्यो दबदबा सक्किनु हो। त्यसैले मतदाताले मत दिदैं गर्दा सरकारको कमजोरी छ सच्चिनु पर्छ भनेर दर्शाएँ। 

हामीले २१ महिनामा २१ असफलता सरकारको अनुहारमा रहेको धुलो हो सफा गर भन्यौं, मतदाताले सच्चिन भने। मैले त्यतिबेला गालिबको एउटा वाक्यांश पनि उद्धृत गरेको थिएँ, ‘जिन्दगीभर मैं एक ही भूल करता रहा, धुल चेहेरे पे थि, मैं ऐना पुछ्ता रहा।’ हामीले सरकारलाई २१ महिनामा २१ वटा धुलो लागेको यो चित्र छ भनेर देखायौं। मतदाताले मत दिँदै गर्दा कम्युनिष्ट पार्टीलाई २१ महिनाको काम अनुमोदन गरेर बढोत्तरी गर्नुपथ्र्यो, त्यो भएन। 

सांकेतिक रुपमा अर्थ लाग्ने कम्युनिष्ट पार्टीका केही गढहरू मतदाताले प्रतिपक्षलाई दिनुभयो। त्यसको अर्थ तिमीले ऐनामा लागेको धुलो पुछेर हुन्न है। तिम्रो अनुहारमा रहेका धुलो पुछ भन्ने सन्देश दिएको हो। त्यसैले सरकारलाई सच्चिन यसले सन्देश दिएको छ।  

जति स्थानमा उपनिर्वाचन भए सबैजसो क्षेत्रमा पुग्न नसके पनि धेरै ठाउँमा पुग्नुभयो। कांग्रेस कार्यकर्ता, शुभेच्छुकको अनुभूति कस्तो पाउनुभयो ?

५२ स्थानमा निर्वाचन हुँदै गर्दा साथीहरूले ४२/४४ ठाउँबाट निमन्त्रणा गर्नुभएको थियो। सबै ठाउँमा पुग्ने चाहना थियो। तर, प्रतिनिधिमुलक रुपमा म पाँच वटा प्रदेशको कार्यक्रममा पुग्न पाएँ। काठमाडौं उपत्यकामा भक्तपुर, प्रदेश १ मा धरान, प्रदेश ३ मा चितवनका तीन वडा, प्रदेश ४ को कास्की र प्रदेश ५ को दाङमा। ती स्थानमा २०७४ सालभन्दा हामी संगठित हुनुपर्छ भन्ने भावना पार्टीका साथीहरुमा देखियो। संगठित हुनुपर्छ भन्ने भावना हुनु र निर्वाचनको व्यवस्थापन त्यही ढङ्गको हुन सक्नु र नसक्नु फरक विषय हो। 

तर, मनोवैज्ञानिक रुपमा साथीहरूमा एकताको सन्देश थियो। केन्द्रीय तहबाट पनि नेताहरूले एकताको सन्देश दिनुभयो। कही पनि फरक मत र विचार अभिव्यक्त गरिरहेका थिएनौं। जुन गति देखिएको थियो त्यसलाई एकीकृत गर्न हामीले सकेनौं। साथीहरूमा उभार आयो तर त्यही ढङ्गको परिचालन पर्याप्त पुगेन। 

सरकारका कमजोरी चिर्न पनि सामाजिक सञ्जाल र जनताको घरसम्म अझ हामी पुग्न सकेनौं। तर, हामीले गर्न नसकेको कुराको समीक्षा पनि गर्छौं। 

कहीँ मत घटेका उदाहरण पनि छन्। सप्तरीको छिन्नमस्तामा हिजोभन्दा कमजोर भएर मत घट्यो। जित्न सक्ने फिदिम गुमायौं। हुम्लामा गाउँपालिकाको उपाध्यक्ष गुमायौं। पाँचथरमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष गुमायौं। गुमाएको ठाउँमा के कमजोरी भयो त्यसलाई पनि समीक्षा गर्छौं। जहाँ बढाएका छौं त्यहाँ कति सांगठनिक प्रभावले भयो कति सरकारको कमजोरीले भयो, यसलाई पनि समीक्षा गर्छौं। 

आफूले गुमाएको स्थानको महत्व नराख्ने तर कांग्रेसलाई प्रचण्डको निर्वाचन क्षेत्र र प्रधानमन्त्रीको भक्तपुरमा खोज्न चेतावनी दिनुभयो नि? 

सरकारले केबाट आत्मसन्तोष लिन सक्छ? नेकपाले ‘नेपाली कांग्रेसले जितेका केही वडा थप्यौं, कांग्रेसले जितेको खर्पुनाथ गाउँपालिका हुम्लामा जित्यौं। फाल्गुनन्द गाउँपालिकामा  अहिले हामीले जित्यौं। लोकप्रिय रहेछौं’ भन्दै एक प्रकारको आत्मसन्तोष गनै सक्छ। यति नै गरेर बस्नुहुन्छ भने तपाईंहरूलाई शुभकामना। तर खार्पुनाथ गुम्दै गर्दा या कोहलपुरको वडा कांग्रेसले गुमाउँदै गर्दा कांग्रेसले त्यसको बदलामा कमरेड प्रचण्डको निर्वाचन क्षेत्र  चितवनको भरतपुरका वडा जित्दा सांकेतिक अर्थ छ कि छैन? 

मतदाताले कांग्रेसलाई उताबाट बिदा गर्दै गर्दा कांग्रेसलाई कहाँ दिनुभयो? त्यसको सन्देश तपाईंहरू बुझ्नुहोस्। कमरेड केपी ओलीको घर कहाँ हो ? पैतृक रुपमा झापाली हो तर उहाँले पछिल्लो समय भक्तपुरमा घर बनाएर बस्नु भएको छ। त्यही भक्तपुरको प्रदेश सभाबाट के सन्देश आयो? उपत्यकाको सचेत मतदाताले दिनु भएको सन्देशलाई विश्लेषण गर्दा ‘होइन हामीले फलानो गाउँपालिका जितेका छौं, भक्तपुर हारेर के भयो’ भनेर उहाँहरू भन्न सक्नुहुन्छ। तर त्यसको सन्देश बुझ्नुपर्‍यो। 

धरानमा अघिल्लो निर्वाचनमा कांग्रेसले १६ हजार मत पाएको थियो। नेकपाले २० हजार र माओवादी केन्द्रले ११ हजार मत पाएको थियो। दुवैको मत जोड्दा ३१ हजार प्लस मत हुन्थ्यो। र, हामी गएको निर्वाचनमा १६ हजार ५३ मतले नेकपाभन्दा पछि थियौं। एमाले एक्लै हुँदा जित्ने धरान आज एमाले र माओवादी एक हुँदा हारेको छ। मैले निर्वाचनबारेको पत्रकार सम्मेलनमा पनि भनेको थिएँ, ‘बिहान एक किलोको बिरालोलाई एक किलो मासु खुवाइएछ। साँझ जोख्दा एक किलोको बिरालो एक किलोकै छ। मासु त्यो हो भनौं भने बिरालो खोई? बिरालो त्यो हो भनौं भने बिहानको मासु खोई?’ एमाले र माओवादी एक हुँदै गर्दा हिजो १६ हजार ५३ मतले हारेको कांग्रेस २७ बढी मत ल्याएर जित्दैंछ। अनि उहाँहरूले हामीले फाल्गुनन्द जित्यौं। कांग्रेसका केही वडा जित्यौं भन्नुहुन्छ भने मेरो शुभकामना छ।

जितेका स्थान कांग्रेसले कसरी गुमायो? यो पनि त चुनौतीको विषय हो नि?

हामीले गुमाएका स्थानको ठाउँपिच्छै समीक्षा गर्छौं। सप्तरीको छिन्नमस्तामा कसरी न्यून मत पायौ? त्यसको समीक्षा गर्छौं। निर्वाचन आचार संहिताले कर्मचारीको रिक्त पदपूर्ति पनि गर्न पाइदैंन भन्छ। तर सरकारले प्रदेश प्रमुखको पदपूर्ति ग¥यो। जुन आचार संहिताविपरित थियो। 

त्यहीबेला मन्त्रिमण्डल पुनःगठन भयो। फाल्गुनन्द गाउँपालिकाबाट निर्वाचित सांसद  सरकारको भौतिक योजनामन्त्री बन्नुभयो। स्वाभाविक रुपमा मन्त्री भएको मानिस गाउँमा गएर बस्दा पनि त्यसको प्रभाव पर्छ। 

तर, फाल्गुनन्द गाउँपालिका नेपाली कांग्रेसले गुमाउने जमिन थिएन। मन्त्रिमण्डलको हेरफेर पनि त्यसमा एउटा कारण बन्यो। अर्को हामीले पुग्नु पर्ने ठाउँमा पुग्न सकेनौं होला। सँगै सरकारको तर्फबाट लोभ, भयलाई स्थापित गर्ने प्रयास गरियो त्यसको प्रभाव पनि पर्‍यो होला। उहाँहरूका तर्फबाट भएको नकारात्मक कुरालाई पहिलो र अन्तिम भनेर दोष दिन्नँ। हामीबाट पनि केही कमजोरी भयो होला। त्यो खोज्छौं।  

निर्वाचन सकिएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले धाँधली भयो भनेर अभिव्यक्ति दिनुभयो। साच्चिकै भएको धाँधली हो कि अभिव्यक्ति दिन अलि हतार भयो ?

 धाँधली नै भन्ने ठ्याक्कै शब्द सभापतिज्यूले भन्नु भएजस्तो मलाई लाग्दैन। धाँधली शब्दको अलि बृहत्तर व्याख्या हुन्छ। तर निर्वाचनमा आचार संहिताको पालनाको सन्दर्भ र साधन स्रोतको दुरुपयोग गर्न पाइदैंन भन्ने सन्दर्भमा सभापतिज्यूको अभिव्यक्ति आएको हो। 

लाभको पदमा बसेका कसैले पनि निर्वाचनको प्रचार प्रसारमा जान नपाउँने आचार संहिताले भन्छ। प्रदेशको मुख्यमन्त्री प्रचारमा जानुभयो। भलै उहाँकै वडा दाङमा हामीले जित्यौं। मुख्यमन्त्रीजी जानुभयो उहाँको पक्षमा मत गएन। त्यस्तै सरकारको उपप्रधानमन्त्री मधेशको प्रचारमा जानुभयो। यसको अर्थ सरकार आचार संहिता पालनामा कति गम्भीर भयोे? पोखरामा कही चामलका ट्रक पक्राउ परेको खबर आउँछ। सरकारले कति आफ्नो कार्यकर्तालाई नियन्त्रणमा राख्यो? 

निर्वाचनको अघिल्लो दिन कास्कीका डिएसपीलाई किन सरुवा गरियो ? मिल्ने हो कि नमिल्ने हो? त्यसको पछिका कारण के हुन् ? यस्तो सन्दर्भमा सभापतिज्यूले पनि अभिव्यक्ति राख्नु भएको हो। त्यतिमात्र होइन कास्कीमा बम पड्केका प्वाइन्ट हेर्नुहोस्। कहाँ–कहाँ पड्कियो? त्यो भूगोलमा क–कसको प्रभाव थियो? कांग्रेसको मतदाता बढी भएको भूगोलमा बम पड्केको घटना छ। बम पड्काउँने शक्ति यदि विप्लव समूह हो भने उसले किन जिम्मा लिएन ?

त्यो कुरा त कांग्रेस अहिले पनि उठाउँन सक्छ होला नि? दोषी को हो? कारबाहीको माग गर्न सकिन्छ होला?

उठाइरहेका छौं हामीले। यदि विप्लवको पार्टीले बम पड्काएको घटना हो भने उनले लुकाएर पड्काउँदै पड्काउँदैनन्। हामीले पड्काएका हौं भने डंका पिटेर पड्काउँछन्। हिजो प्रचण्डजीले पड्काउँदा हामीले पड्काएकै हो भन्नुहुन्थ्यो। अहिले विप्लवले जिम्मा लिइरहनु भएको छैन्। कास्कीमा पड्काएको बमको नाइके को हो? प्रश्न उठाउँनु पर्‍यो नि। यसको मतलब मैले सरकारतिर शंका गरिरहेको होइन। सरकारतिर आरोप लगाइरहेको होइन। तर सरकारको जिम्मेवारी त हो नि को हो भनेर पत्ता लगाउने। 

त्यसैले विगतमा कांग्रेसको सरकार हुँदा गिरिजाप्रसाद कोइरालालाई थाहा थियो २०६४ सालको निर्वाचनमा हामी हार्दैछौं भन्ने। तर उहाँ निर्वाचन गराउनेतर्फ लाग्नुभयो। 

स्थानीय निर्वाचनको पहिलो दल एमाले र तेस्रो दल माओवादी केन्द्र मिल्दै गर्दा चुनाव हार्दैछौं भन्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि थाहा थियो। तर निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउने कुरामा हामी समर्पित भयौं। अहिलेको सरकार निर्वाचनलाई निष्पक्ष, भयरहित र सबैलाई प्रेरित गराउनेमा भन्दा आफ्नो पार्टीलाई निर्वाचन जिताउने विषयमा बढी केन्द्रीत भयो। 

त्यसका बाबजुद् पनि पत्रकार सम्मेलनको पहिलो अनुच्छेदमा हामीले उल्लेख गरेका छौं, ‘जेजस्तो वातावरणमा निर्वाचन भएको भए पनि नेपाली कांग्रेसले लोकतान्त्रिक अभ्यासबाट आएको परिणामलाई स्वीकार्ने, आत्मसात तथा शिरोधार्य गर्ने परम्परा र संस्कृतिको दल हो। त्यसैले हामी यो परिणामलाई ग्रहण गर्दछौं।’

प्राप्त मत कांग्रेस नै जनताको विकल्प भएर आएको हो वा नेकपाले जनअपेक्षा पूरा गर्न नसकेर? सामाजिक सञ्जालमा कांग्रेस शुभेच्छुकले ‘बिना एजेण्डा र संगठनविहीन अवस्थामा पनि कांग्रेसले लोकमत सुधा¥यो। कांग्रेस कार्यकर्ता र मतदातामा यो उत्साह कसरी कायम भएको होला’ भन्ने चिन्ता थियो। 

कुरा प्रष्ट थियो। नेपाली कांग्रेसले निर्वाचनमा भोट माग्दै गर्दा हामीलाई मत दिनुहोस् सरकार बनाउँछौं भन्न मिल्थ्यो र? मिल्दैंन थियो। यो निर्वाचन सरकार बदल्नलाई भएकै थिएन। हामीले घुमाएर कुरा गरेनौं। सिधा कुरा ग¥यौं। तपाईंले दिएको मतले सरकार बनाउँदैन। सरकार पनि बदल्दैंन। तर तपाईंले दिएको एक मतले तपाईंले नै बनाएको सरकारलाई सच्याउन सक्छ भन्यांै। 

निर्वाचनमा मतदाताले मत दिदैं गर्दा आधाभन्दा बढी आग्रह मत दिदैं आएको दलका प्रति हुन सक्छ। आधाभन्दा कम आग्रह–पूर्वाग्रह मत दिन नचाहेको दलप्रति वितृष्णा हुन सक्ने विश्वव्यापी मनोविज्ञान देखिन्छ। 

नेपाली कांग्रेसले २०७४ सालमा हार्दै गर्दा एमाले र माओवादी गठबन्धन प्रमुख कारण थियो। तर, हाम्रा कमजोरीका कारण पनि मतदाताले मत दिनु भएन होला। अहिलेको कमीकमजोरी र सरकारको २१ महिनाको समीक्षा गरेर पनि कांग्रेसले मत प्राप्त गर्‍यो। सरकारप्रतिको असन्तुष्टिका कारण मात्रै मतदाताले मत दिएका हुन् भने रुख चुनाव चिह्न मात्रै थियो र? कांग्रेस र कम्युनिष्ट पार्टीको निर्विकल्प बन्छौं भन्दै साना दलले दोकान त थापिरहेकै छन् नि। 

यहाँ जोड्न खोजेको– जुन ढङ्गले कांग्रेसको संगठन सक्रिय हुनुपथ्र्यो, त्यसो नहुँदा तल्लो तहका कांग्रेस कार्यकर्तामा निराशा त छदैंछ नि?

निश्चय नै तपाईंले भनेकोजस्तो निराशा नै त म भन्दिन्नँ। तर जुन गतिमा हाम्रा संरचना बन्नुपथ्र्यो त्यो बनेको छैन। तर २०७४ सालको निर्वाचनमा भन्दा २०७६ मा आउँदै गर्दा चार/पाँच वटा विषय फरक भइसकेका छन्। 

पहिलो एमाले र माओवादी केन्द्र एक भएर निर्वाचनमा जाँदै गर्दा नेपाली कांग्रेसमा सार्वजनिक रुपमा खबर सञ्चार माध्यम र समाजिक सञ्जालमा सम्प्रेषण गर्ने पार्टीको एउटा प्रवक्तासम्म थिएन। अहिले आउँदै गर्दा पार्टी प्रवक्ता एक डेढ वर्षदेखि मुभमा छ। अघिल्लो निर्वाचनसम्म कांग्रेसको उपसभापति, सहमहामन्त्रीदेखि मनोनित महामन्त्री पनि हुनुहुन्नथ्यो। कमजोरी भएको थियो। त्यसको आलोचना हुनु पनि स्वभाविक थियो। अहिलेको निर्वाचनमा पदाधिकारी आइसक्नु भएको थियो। निर्वाचनमा जाँदासमेत देशभरका जिल्ला सभापतिलाई बोलाएर कसरी निर्वाचनमा जाने भनेर सल्लाह सुझावसमेत लिन सकेनौं। गल्ती गर्‍यौं। २०७६ को निर्वाचनअघि नै हामीले जिल्ला सभापतिहरूको राष्ट्रिय भेला हेटौंडामा गरेर एक किसिमको दृष्टिकोण तय गर्‍यौं। 

देशभरका महासमिति सदस्यलाई बोलाएर २०७४ सालको निर्वाचनमा जानु अघि कांग्रेसले नीति, कार्यक्रम, दृष्टिकोणबारे घनिभूत छलफल गरेन। गल्ती र कमजोरी गर्‍यौं। ०७५ को पुस–माघमा हामीले महासमिति बैठक गर्‍यौं। अघिल्लो निर्वाचनमा जाँदै गर्दा नयाँ राज्य संरचना बनिसकेको थियो। तर कांग्रेसले बदलिएको राज्य संरचना अनुसार विधान बदलेको थिएन। अहिले विधान पनि बदल्यौं। यसबीचमा अन्तरिम संरचना बनाउने काम गर्‍यौं। यसबीचमा पार्टीको प्रशिक्षण र जागरण अभियान राष्ट्रव्यापी भए। 

कांग्रेसले ५० प्रतिशत मत सरकारको अलोकप्रियताका कारण र ५० प्रतिशत पार्टीका साथीको मेहनतले पनि पायौं होला। 

अन्त्यमा कांग्रेस कार्यकर्ता वा मतदाताले यो उपनिर्वाचनबाट के सन्देश दिएर पठाएका छन् आउँदो निर्वाचनका लागि?

अघि पनि मैले यसबारे केही जोडेको छु। उपनिर्वाचनले सरकारलाई सच्चिनँ र कांग्रेसलाई गति बढाउन सन्देश दिएको छ। कांग्रेसलाई बाहिर रुपान्तरणको गति बढाउन र भित्र अन्तरविश्वास बढाउन मतदाताले सन्देश दिएर पठाएका छन्। यो सन्देशलाई एकताबद्ध रुपमा सबैले आत्मसात गर्नुपर्दछ। एकले अर्कालाई आलोचित गरिराखेर पनि यात्राको गन्तव्य खोज्न सकिन्छ। एकले अर्कोलाई शक्ति दिएर, एकले अर्कोबाट शक्ति हासिल गरेर कांग्रेस एकताबद्ध उभिएर जाओस्, कांग्रेस पुरानो दल हो, जेठो दल हो फेरि पनि आशा र भरोसाको दल हो। हिजोको नेतृत्व भोलिको फेरि सम्भाव्य विकल्प हो भन्ने सन्देश प्राप्त भएको छ। त्यसलाई आवेगरहित भएर एकताबद्ध भएर पार्टीले सोच्नु पर्दछ। सोच्छ पनि। 


(कांग्रेस केन्द्रीय समिति बैठक,लथालिङग भ्रातृ संस्था र १४ औं महाधिवेसनका विषयमा प्रवक्ता शर्मासँगको थप वार्ता अर्को भागमा)