काठमाडौं- नाइजेरियाली नागरिक पिटर हर्मन सन् २०१० मा नेपाल आएका थिए।
भिजिट भिसामा नेपाल घुम्न आएका उनी ठमेलस्थित रमेश खड्काको होटलमा बसे। त्यही बेला भएको चिनाजानी पछि घनिष्ट मित्रतामा परिणत भयो।
त्यही एक भेटबाटै सुरु भयो १४ करोड ६७ लाख ९१ हजार ठगीको श्रृंखला।
ठमेलको भेटबाटै घनिष्ट साथी भएका उनीहरुबीच ह्वाट्एप, भाइबरलगायतमा बारम्बार कुरा भइरहेको हुन्थ्यो। पैसा कमाउने सजिलो उपाय भन्दै नाइजेरियन पिटरले रमेशलाई केही आइडिया सेयर गरेका थिए । ‘उनैको योजनाअनुसार दोलखा फुलपाका रमेशले नेपालमा पिटरको एजेन्ट भएर काम गरे । र, चिठ्ठा र ह्याक गरेर करोडौं रुपैयाँ ठग्न सफल भए’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापा बताउँछन् ।
उनीहरुले दुई तरिकाबाट ठग्दै आएका थिए। एउटा अनलाइनमार्फत् चिठ्ठा पर्यो भन्दै र अर्को बैंक ह्याकिङ गरेर ।
यसभन्दा अघि महाशाखाले कृषि विकास बैंक र पानस रेमिट ह्याकिङ प्रकरणमा पनि पिटरको संलग्नता रहेको बताएको थियो । त्यसबेला नेपालका सञ्जय घलेले नेपाली एजेन्टको रुपमा काम गरेका थिए। त्यसबेला ४ करोड ७३ लाख ९६ हजार ह्याक गरिएको थियो। प्रहरीले १५ जनाभन्दा बढीमाथि अनुसन्धान गरेको थियो।
त्यहीबाट सुरु भएको अनुसन्धानले यही समूहले सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, ह्वाटएप, इमो) मार्फत् पनि ठगी गरेको पाइएको महाशाखाका डिएसपी दुर्गा दाहालले जानकारी दिए।
यसरी झण्डै १५ करोड ठगी गरेको आशंकामा प्रहरीले रमेश खड्कासहित नवलपरासी रामग्राम १७ का विश्वेश्वर तिवारी र सोही ठाउँका १९ वर्षीय सन्दीप कलवारलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
यसरी ठगी गर्नेका नेपालका मुख्य एजेन्ट रमेश थापा रहेको पाइएको छ ।
यसरी हुन्थ्यो ठगी
थापाको कनेक्शन काले भन्ने पिटरसँग हुन्थ्यो। उनकै योजनामा खड्काले नेपाली बैंकमा खाता भएका व्यक्तिसँग सम्पर्क बढाउँदै खाता नम्बर लिएर पिटरलाई दिन्थे। भारतमा बसेका पिटरले उक्त सूचना भारतमै रहेका अर्का नाइजेरियनलाई उपलब्ध गराउथे।
त्यसपछि नेपाली बैंकको रकम व्यक्तिका खातामा ह्याक गरेर उनीहरुले हाल्थे । यसरी आफ्नो खातामा रकम आएपछि १५ देखि २० प्रतिशतसम्मले लिएर उनीहरुले बाँकी रकम रमेशलाई दिन्थे। रमेशले उक्त रकम पिटरलाई हुण्डीमार्फत पठाउने गरेको पाइएको छ।
यसरी बैंकको सिस्टमलाई बाइपास गरेर उनीहरुले रकम ह्याक गर्दै आएका थिए। अर्कोतर्फ यही समूहले चिठ्ठा पर्यो भन्दै ठगी गर्ने गरेको पाइएको छ।
त्यसका लागि उनीहरुलाई सामाजिक सञ्जालमै विभिन्न म्यासेज पठाएर पार्सल आएको तथा चिठ्ठा परेको भन्दै कन्भिन्स गराउने गरेका थिए। जसका लागि पिटरका भारतीय एजेन्टहरुले ‘भन्सारबाट, विभिन्न बैंकहरुबाट बोलेको तपाईंको सामान आएको छ। सामान लिनका लागि भन्सार लगायत अन्य प्रयोजनका लागि निश्चित रकम पठाउनु होला’ भन्दै फोन गर्ने गरेका थिए।
त्यसपछि रकम दिन तयार भएपछि उनीहरुले रमेशको बैंक खाता नम्बर दिएर त्यसमा रकम हालिदिनु भन्ने गरेको पाइएको छ।
यसरी ठगी गर्न रमेशले मात्रै ३ वटा खाता सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको छ। उनले आफ्नोसँगै निरज बराल र बुद्धिमान श्रेष्ठको नामको खातासमेत प्रयोग गर्दै आएका थिए । रमेशको आफ्नो खातामा ३ करोड १५ लाख ८३ हजार ७ सय १५, बुद्धिमानको खातामा २ करोड ४ लाख ८८ हजार २सय ३२ र निरजको खातमा २ करोड ११ लाख २३ हजार ७ सय २१ गरेर ७ करोड ३१ लाख ९६ हजार ६ सय ७४ रुपैयाँ कारोबार भएको अनुस्न्धानबाट खुलेको छ।
यसरी यो गिरोहले चिठ्ठा परेको छ भन्दै नेपालकी सुनिता राईबाट मात्रै २० लाखभन्दा ठगेको पाइएको छ।
ठगी गर्न प्रयोग भए १७ बैंक, बैकमाथि पनि अनुसन्धान
यसरी ठगी भएको रकमको कारोबार गर्न नेपालका विभिन्न १७ वटा बैंक प्रयोग भएको पाइएको छ। प्रहरीका अनुसार बैंक अफ काठमाण्डौ, प्रभु बैंक, मेगा बैंक, हिमालयन बैंक, सनराईज बैंक, सिटिजन बैंक, नविल बैंक, लुम्बिनी बिकास बैंक, माछापुच्छ्रे बैंक, एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, ग्लोबल आईएमईआई बैंक, एनआईसी एसिया बैंक, स्टाण्डर्ड च्याटर बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र लक्ष्मी बैंक प्रयोग भएको पाइएको छ ।
यी बैंकमा खाता भएका व्यक्तिका नाममा रकम हाल्दै हुण्डीमार्फत् भारत पठाउने गरिन्थ्यो । रातारात एउटै व्यक्तिको खातामा यति ठूलो कारोबार हुँदासमेत बैंकले कुनै शंका नगरेपछि प्रहरीले बैंकमाथि पनि अनुसन्धान सुरु गरेको छ।
प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो, ‘यसबारे हामीले राष्ट्र बैंकमापर्फत १७ वटै बैंकलाई पत्र काटिसकेका छौं। अब अनुसन्धान हुन्छ ।’
नाइजेरियाली तथा भारतीय नागरिकहरु भारतको दिल्ली तथा मुम्बई, पाकिस्तान, चीन, तान्जानिया, इथियोपिया तथा बेलायतमा बसी नेपालका नागरिकलाई एजेन्ट बनाई सामाजिक सञ्जालमार्फत् यसरी उनीहरुले लामो समयदेखि ठगी गर्दै आएको पाइएपछि थुप्रै व्यक्ति पीडित हुनसक्ने भन्दै पीडितलाई प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।