एजेन्सी- यो जाडोको मौसम हो। केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ। वरिपरिको चिसो वातावरणका कारण शरीरमा ह्वात्तै तातो घट्छ र चिसो महशुस हुन्छ। शरिरलाई नयाँ मौसममा एडजस्ट हुन पनि गाह्रो हुन्छ, जसका कारण विभिन्न रोगको जोखिम बढ्छ। वातावरणमा आएको परिवतर्नलाई विभिन्न रोगले पनि संकेत गरेको पाइन्छ। ख्याल नपुर्याउँदा धेरै मानिस चिसोको शिकार हुने गरेका छन्।
जाडो मौसममा हुने रोगहरु
मौसमी फ्लू : तापक्रमको गिरावटपछि यसको प्रत्यक्ष असर हाम्रो शरीरमा हुन्छ। चिसोमा शरीरको ताप घट्दा शरीरमा चिसो महशुस हुन्छ। बाह्य वातावरण चिसो हुने भएकाले शरीरमा जतिबेला पनि जाडो अनुभूति हुन्छ र रुघाको जोखिम बढ्छ। कुनै एक व्यक्तिको श्वासप्रश्वास, खोकी हाच्छ्यु र सामान्य बोलीचालीबाट पनि मौसमी फ्लू सर्छ। संक्रमित व्यक्तिको मुख, नाक र आँखाबाट पनि मौसमी फ्लू सर्छ।
बच्ने उपायः शरीरले तापक्रम एडजस्ट गर्न नसक्ने भएकाले जाडोमा अत्याधिक चिसो वा तातो स्थानमा नबस्न विज्ञहरु सुझाव दिन्छन्। एसीमा बसेर बाहिर निस्कँदा शरीरले बाहिरको चिसो मौसमसँग एडजस्ट गर्न नसक्ने भएकोले धेरै तापक्रममा नबस्न विज्ञहरु सुझाव दिन्छन्।
खोकीः धुलो, सुख्खा र चिसो हावाका कारण जाडोमा खोकीको जोखिम हुने गर्छ। यदि पिनासको समस्या छ भने धुलोबाट बँच्नुपर्छ।
बच्ने उपायः खोकीबाट बच्नँ खानेकुरामा विशेष बिचार पुर्याउनुपर्छ। नियमित तातोपानी खानुपर्छ। शरीरमा चिसो र तातोको सन्तुलन मिलाउनुपर्छ। तातोपानी, चिया अथवा कफी खाएर चिसो पानी वा अन्य ड्रिंक्स खानुहुँदैन। बाहिर निस्कँदा जहिले पनि मास्क लगाउनुपर्छ।
फुस्रो छालाः चिसो मौसममा अधिकांश मानिसको छाला फुस्रो हुन्छ। पर्याप्त पानी नखाँदा छाला फुस्रो हुने ओठ फुट्ने गर्छ।
बच्ने उपायः फुस्रो छालाबाट बच्नँ हरेक रात सुत्नुअघि कोकोनट र आलमोन्डको तेल लगाउनुपर्छ। तेलीय खानेकुरा खानुहुँदैन। प्रशस्त पानी पिउनुपर्छ।
टाउको दुख्नेः चिसोका कारण कतिपय मानिसमा टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या आउन सक्छ।
बच्ने उपायः उनीको टोपी, मफलर लगायतका न्याना कपडा लगाउनुपर्छ। रोग लाग्नुमा खानपिन पनि जिम्मेवार हुने भएकोले नियमित पोषिलो खानेकुरा खानुपर्छ। चिसोकै कारण बारम्बार टाउको दुखेमा दैनिक मनतातो अदुवा पानी पिउनुपर्छ।
जाडोको सामना कसरी गर्ने?
हरेक पटक मौसम परिवर्तन हुन्छ। तर, परिवर्तित मौसममा बानी पर्न हामीलाई केही समय लाग्छ। परिवर्तित मौसममा एडजस्टमेन्ट हुने बेलामा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि न्युन हुन्छ र विभिन्न भाइरस र ब्याक्टेरियाले शरीरमा आक्रमण गर्ने दाउमा हुन्छन्। विचार नपुर्याएमा तत्कालै बिरामी हुन पुगिन्छ। बाह्य तापक्रममा भएको परिवर्तनले चिसोसँग सम्बन्धी विभिन्न रोग लाग्छ।
रोग प्रतिरोधात्मक क्षमता बढाउने
कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण जाडोसँग सम्बन्धित विभिन्न रोगले आक्रमण गर्छ। प्रतिरोधात्मक क्षमता बलियो भएमा त्यसले चिसोजन्य रोगको संक्रमणबाट मात्र बचाउँदैन अन्य गम्भीर रोग निम्तिनबाट पनि बच्न सकिन्छ। राम्रो र स्वस्थ खानेकुरा खाएर प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिन्छ। सन्तुलित खानाले मानिसलाई स्वस्थ र तन्दुरुस्त बनाउँछ। जाडोमा पर्याप्त आराम गर्दा र बेला-बेला घाम ताप्दा राम्रो हुन्छ।
अनुहारको छाला जोगाउने
चिसो र सुख्खा मौसमले छालालाई सुख्खा बनाउँछ। सुख्खा छाला फुट्ने गर्छ। तसर्थ जाडोको समयमा प्रशस्त पानी पिउनुपर्छ र मोश्चराइजर क्रिम लगाउनुपर्छ। एभोकाडो, जैतुन र नरिवलको तेलले छालालाई शितल र मुलायम बनाउँछ।
पर्याप्त पोषण
प्रशस्त पोषणले पनि तपाईंको स्वास्थ्य र छालाको स्याहार गर्छ। भिटामिन सीले प्रतिरोधात्मक क्षमता सशक्त बनाउँछ। भिटामिन सीले रुघाखोकीबाट पनि बचाउँछ।
परिवर्तनका लागि तयार
मौसम परिवर्तनका लागि शरीरलाई तयारी अवस्थामा राख्नुपर्छ। बदलिदो मौसमसँग जुध्न प्रशस्त लत्ताकपडा र खानेकुराको पूर्व व्यवस्था गर्नुपर्छ। कुन बेला कुन खानेकुरा खाने र कुन कपडा लगाउने भन्ने विषयमा ज्ञान नहुँदा धेरै मानिस चिसोको शिकार हुन्छन्। रातको समयमा विशेष ध्यान पुर्याउनुपर्छ। एयर कन्डिसन र अन्य तापसम्बन्धी उपकरण राम्रो अवस्थामा छन् वा छैनन् भन्नेबारे ध्यान दिनुपर्छ।
जाडो मौसममा देखिने अन्य समस्या
१) ह्दयघातः हामीमध्ये अधिकांशलाई यो थाहा नहुन सक्छ, जाडोमा धेरै मानिसलाई हृदयघात हुने गर्छ। तापक्रममा आएको गिरावटले रक्तनली साँघुरिने र मुटुमा रगत पम्प गर्न गाह्रो हुने हुन्छ। यही जोखिमका कारण विज्ञहरुले मोटा र वृद्धवृद्धालाई जाडो मौसममा मर्निङ वाक गर्न सुझाव दिँदैनन्।
२) दम बढ्छः जाडो मौसममा बढी हुने समस्यामध्ये दम पनि एक हो। चिसो र सुख्खा हावाले श्वासनलीलाई साँघुरो पारी श्वास फेर्न कठिनाइ उत्पन्न गर्छ। तसर्थ जाडो भयो भनेर घरमा अनावश्यक आगो वा धुवाँ बाल्नुहुँदैन।
३) जोर्नी दुख्छः जाडोमा जोर्नी दुख्नुको कुनै वैज्ञानिक प्रमाण भेटिएको छैन। तर, अधिकांश मानिस यस समस्याबाट पीडित हुने गर्छन्। जोर्नी दुख्ने समस्याबाट बच्न पैतलालाई न्यानो बनाउनुपर्छ। एउटा बाक्लो लुगा लगाउन भन्दा पातला दुई वा सो भन्दा बढी कपडा लगाउनु उपयुक्त मानिन्छ। यसले जोर्नीलाई चिसो हुनबाट बचाउछ।
स्रोतः स्काइमिटवेदर डट कम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।