काठमाडौं- राजस्व चुहावट न्यूनीकरणका लागि सरकारका चार वटा विभागले सूचना आदान-प्रदान गर्ने भएका छन्।
भन्सार तथा आन्तरिक राजस्व चुहावट न्यूनीकरण गर्न उनीहरुबीच सूचना आदान-प्रदान गर्ने समझदारी बनेको हो।
भन्सार विभाग, आन्तरिक राजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागका महानिर्देशकहरुबीच बुधबार भएको छलफलमा उनीहरुले एक आपसमा सूचना साटासाट गर्ने समझदारी बनेको हो। 'राजस्व चुहावट न्यूनीकरण गर्न सूचना आदान-प्रदान महत्वपूर्ण हुने भएकाले यसैका लागि छलफल भएको हो,' भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेका सम्पत्ती शुद्धीकरण र राजस्व अनुसन्धान तथा अर्थ मन्त्रालय मातहत रहेका भन्सार र आन्तरिक राजस्व विभागले संयन्त्र बनाएरै नियमित सूचना आदान प्रदान गर्ने भएका हुन्। आन्तरिक राजस्व तथा भन्सार दुवैतर्फ राजस्व चुहावट नियन्त्रणका लागि संयन्त्र बनाएर अघि बढ्नुपर्ने निष्कर्षमा उनीहरु पुगेका छन्।
राजस्वसँग सम्बन्धित अनुसन्धान तथा कारबाही राजस्व अनुसन्धान विभाग, भन्सार र आन्तरिक राजस्वले मात्रै गर्दै आएकोमा अब सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले पनि सूचना प्राप्त गरी जोखिमपूर्ण क्षेत्रमा अनुसन्धान अघि बढाउन सक्छ।
बुधबारको छलफलमा चारवटै विभागका महानिर्देशकहरु आपसमा सूचना आदान-प्रदान गरी चुहावट नियन्त्रण र कारबाहीको प्रक्रियालाई सहज गर्न सहमत भएका छन्। यसले जोखिमपूर्ण क्षेत्रको सूचना विश्लेषण गरी कारबाही प्रक्रिया छिटो अघि बढाउन सहयोग गर्ने उनीहरुको भनाइ छ।
विद्यमान संरचनाको उपयोग भने भएन
अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग र भन्सार विभागबीच सूचना आदान-प्रदान गर्ने गरी संयन्त्र बनाउने घोषणा गरे पनि प्रभावकारी कार्यान्वयन गर्न सकेको छैन। भन्सारमा हुन सक्ने न्यून बिजकीकरण रोक्ने बजार मूल्यसमेत थाहा पाउन सक्ने गरी दुई निकायबीच सूचना आदान-प्रदान गर्न प्रणाली बनाउने भनिए पनि प्रभावकारी हुन सकेको छैन।
भन्सारले अहिले आशिकुडा वर्ल्ड प्रणाली कार्यान्वयन गरिरहेको छ। यसैगरी आन्तरिक राजस्व विभागले पनि रेभेन्यु म्यानेजमेन्ट इन्फरमेसन सिस्टम चलाइरहेको छ। यी दुई प्रणालीको माध्यमबाट सूचना आदान-प्रदान गरी भन्सारमा हुने न्यूनबिजकीकरण र बजारमा हुने अधिक मूल्य रोक्ने घोषणा भए पनि त्यसको कार्यान्वयन भने भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।