काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृतिको रक्षाबाट सभ्य र सु-संस्कृत समाज निर्माण हुने विचार व्यक्त गरेका छन्।
काठमाडौंको बसुन्धरामा बसुन्धरा युवा सुधार समितिद्वारा आयोजित धार्मिक कार्यक्रममा बोल्दै थापाले आफ्ना गौरवशाली इतिहास, मूल्य मान्यताको जगेर्ना गर्नको निमित्त युवापुस्ता अग्रसर हुनुपर्नेमा जोड दिए।
कुनै पनि देशको आफ्नो विशिष्ट मौलिक पहिचान हुने गर्दछ, त्यसको रक्षाबाट नै मुलुकको समग्र प्रगति हुने भन्दै उनले अराजकता , व्यभिचारी र दुराचारी भावनाको अन्त्य गर्न पनि धर्म सस्कृतिको भुमिका महत्त्वपूर्ण हुने बताए।
थापाले मानिसमा सकारात्मक भावनाको विकाससँगै सत्कर्म र सत्प्रयासको मार्गमा लाग्नको निमित्त तथा आपसी सद्भाव र एकता कायम गर्नको निमित्त धार्मिक र आध्यात्मिक जागरण आवश्यक भएको चर्चा गरे।
हत्या, हिंसा, बलात्कार, भ्रस्टाचार जस्ता विकृती र विसङ्गतिको अन्त्य अहिलेको प्रमुख आवश्यकता भएको भन्दै थापाले बढ्दो धर्म परिवर्तन प्रति चिन्ता समेत व्यक्त गरे।
कार्यक्रममा सहयोग गर्ने र समाजका महत्त्वपूर्ण व्यक्तिहरुलाई थापाले सम्मान एवं प्रशंसापत्र वितरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।