काठमाडौ- नेपाली कांग्रेसको संस्थापन इतर समूहले केन्द्रीय समितिको बैठक बहिष्कार गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन र कार्यसम्पादन समिति गठनमा एकलौटी गर्न लागेको आरोप लगाउदै संस्थापन इतरका नेताहरुले बैठक बहिष्कार गरेका हुन्।
पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर महामन्त्री डा शशांक कोइराला बैठकमा प्रवेश नै नगरी बाहिरिएका छन्। कोइराला निकट एक नेताले भने,‘सभापती देउवा एक पक्षीय तरिकाले अघि बढेकाले बैठक बहिष्कार जस्तै हो।’
संस्थापन पक्षले बहुमतका आधारमा प्रस्तावित एजेण्डा पारित गर्ने तयारी गरेपछि इतर समुहका नेताहरु बैठकमा अनुपस्थित भएका हुन्। १४औं महाधिवेशनलाई केन्द्रीय कार्यसमितिको प्रमुख एजेण्डा नबनाएसम्म बैठकमा प्रवेश नगर्ने केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी गराए।
१४औं महाधिवेशनको कार्यतालिकालाई सभापति देउवाले बैठकको एजेण्डा बनाएका थिएनन्। सभापति देउवाले ९ बुँदे एजेण्डा बैठकमा पेश गरेका छन्।
विधानमा २८ विभागको प्रावधान भएपनि बैठकमा संख्या बढाउने गरी प्रस्ताव गरिएको छ। गुरुङले भने, ‘बैठकमा प्रवेश नै गरिएन के के एजेण्डा ल्याइएको छ। जानकारी भएन।’
संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको बैठक जारी रहेपनि पौडेल र सिटौला पक्षका नेताहरु वरिष्ठ नेता पौडेलको कक्षमा बसिरहेका थिए। पौडेलको कार्यकक्षमा उनीसहित कोषाध्यक्ष सीतादेवी यादव नेताहरु डा राम शरण महत,प्रकाशमान सिंह,डा मिनेन्द्र रिजाल थिए।
केन्द्रीय कार्यसमितिको बैठकमा दिल बहादुर घर्ति,कमला पन्त,दिपक गिरी,जीवन परियार,गुरु घिमिरे,बद्री पाण्डे,प्रदीप पौडेल,नविन्द्रराज जोशी हृदयराज थानी,चन्द्र भण्डारी,रामकृष्ण यादव,दिलेन्द्र प्रसाद बडु,कल्याण गुरुङ,सरिता प्रसाईं लगायतका नेताहरु कार्यालय पुगेर पनि बैठकमा सहभागी भएनन्।
नेता कृष्णप्रसाद सिटौला उपत्यका बाहिर भएकाले केन्द्रीय कार्यालय पुगेनन्।
बैठक दिउसो एक बजेदेखि बोलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।