काठमाडौं- ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रम सञ्चालन गर्दै आएका सञ्चारकर्मी रवि लामिछानेले रियालिटी शो पनि सञ्चालन गर्ने भएका छन्। उनले ‘द लिडर’नामको रियालिटी शो सञ्चालन गर्ने भएका हुन्।
नेपालमा ‘को बन्छ करोडपति’ रियालिटी शो सञ्चालनमा ल्याएको ‘एसआरविएन’मिडियाले यो कार्यक्रम छिट्टै प्रसारणमा ल्याउन लागेको बिहीबार राजधानीमा घोषणा गरियो। समाज र वर्तमान पुस्ताले सोचेको अनि खोजेको नेतृत्व जन्माउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेको सञ्चारकर्मी लामिछानेको दाबी छ। ‘हामी यो रियालिटी शोमार्फत कुनाकुनामा लुकेर र दबाइएर बसेका नेताहरु खोज्नेछौँ,’ उनले भने, ‘‘भाषणसँगै भिजन प्रस्तुत गर्न सक्ने लिडरहरुबीच प्रतिष्पर्धा गराइनेछ। विजयीलाई राष्ट्रिय राजनीतिमा सहज प्रवेशको अवसरसमेत दिइनेछ।’
सातै प्रदेश र विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाडौं ल्याएर फाइनलमा प्रवेश गराइने कार्यक्रममा जानकारी दिइयो। निर्माण पक्षले संसारकै पहिलो फरक कन्सेप्टको कार्यक्रम हुने दाबी गरेको छ। यसका निर्णायकमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व पत्रकार तथा नेता रविन्द्र मिश्र रहनेछन। तीनैजना औपचारिक घोषणा कार्यक्रममा सहभागी थिए। उनीहरुसँगै बाँकी २ निर्णायकपछि चयन गरिने कार्यक्रममा जानकारी दिईयो।
तीनैजना निर्णायकले यो कार्यक्रमबाट वर्तमान पुस्ताले खोजेको अनि रोजेको लिडर जन्माउन सहयोग पुर्याउने अपेक्षा राखेको बताएका थिए।
प्रतिस्पर्धीबाट ‘द लिडर’हुने विजेतालाई काठमाडौंमा अपार्टमेन्ट, गाडी र नगद २० लाख रुपैयाँ प्रदान गरिने ‘एसआरविएन’ मिडियाका सिईओ विपिनकुमार आचार्यले बताए। कार्यक्रम न्युज २४ टेलिभिजनका साथै रमाईलो टीभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।