काठमाडौं– ‘काठमाडौं अन्तराष्ट्रिय माउन्टेन फिल्म महोत्सव’ (किम्फ)को १७ औँ संस्करण बिहिबार(आज)बाट सुरु भएको छ ।
महोत्सवको उद्घाटनमा ‘दि एसेनट अफ एभेरष्ट’ वृत्तचित्र प्रदर्शनी गरियो। वृत्तचित्र सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गेसँग सगरमाथा आरोहण गरेका सर एडमण्ड हिलारीमाथि निर्माण गरिएको हो। हिलारीकै भूमिका रहेको अर्को फिल्म ‘ओसियन टु स्काइ’ पनि महोत्सवमा प्रदर्शन हुँदैछ।
मंसिर २९ गतेसम्म चल्ने यो महोत्सवमा वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र र प्रयोगात्मक गरी ७९ चलचित्र प्रदर्शन हुनेछन्। किम्फमा सहभागी हुनका लागि ६९ देशका ४ सय २७ वटा फिल्मले आवेदन दिएका थिए। ति मध्ये २९ देशका ६६ वटा फिल्म महोत्सवमा प्रदर्शन हुने छन्। जसमध्ये नेपाल पानारोमा अन्र्तगत १४ वटा फिल्म प्रदर्शन हुनेछन्।
प्रदर्शन गरिने फिल्महरुमध्ये १७ वटा फिल्म प्रतिस्पर्धात्मक सुचीमा छन् भने ३२ फिल्म गैर प्रतिस्पर्धात्मक सुचीमा समावेश गरिएका छन्। अन्तराष्ट्रिय विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने चलचित्रलाई क्रमशः दुई लाख, एक लाख ५० हजार र एक लाख रुपैयाँ पुरस्कार दिइने व्यवस्था गरिएको छ। त्यस्तै नेपाल पानोरामा अन्तर्गत उत्कृष्ट हुने कथानक र गैरकथानक चलचित्रलाई क्रमशः १ लाख र ७५ हजार रुपैयाँ प्रदान गरिने बताइएको छ।
महोत्सव राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा संचालन भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।