काठमाडौं- नेपालका लागि एमजी गाडीको अधिकारीक वितरक पारामाउन्ट मोटर्स प्रालिले नक्साल शोरुममा नयाँ विद्युतीय एसयुभी एमजी जेडएस इभी सार्वजनिक गरेको छ।
कार्यक्रममा कम्पनीले यही साता ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण गरिसकेको जनाएको छ।
एमजी जेडएस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रिबुकिङ खुलाएको थियो जसमा १ सय ५० भन्दा बढी बुकिङ भएको दाबी कम्पनीको छ। विद्युतीय एसयूभी एमजी जेडएसले १ सय १० किलोवाट पावर र ३ सय ५० एनएम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ।
एमजी जेडएस इभीले एक पटकको फुल चार्जमा ४ सय २८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ। यो गाडीको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्ने पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले बताए। कम्पनीले थप ६६ वटा गाडी जनावरी २०२० को पहिलो साता ग्राहकहरूलाई हस्तान्तरण गर्ने योजना बनाएको उनको भनाइ छ।
एमजी (मोरिस ग्यारेज) ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड हो जसको युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेसिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा लाकप्रिय हुँदै आएको छ। यसको नयाँ भेरियन्ट एमजी जेडएस इभीले युरोपमा ३ हजारभन्दा बढी बुकिङ भइसकेको छ। विश्वभर एमजीका उत्पादनहरु ६० भन्दा बढी देशहरुमा बिक्री हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।