काठमाडौं- काठमाडौं जिल्ला अदालतले लागू औषध मुद्दामा कारागार कार्यालय जगन्नाथदेवलमा रहेका एक कैदलाई समयमा उपस्थित नगराएपछि कारवाही गर्ने चेतावनी दिएको छ।
जिल्ला अदालतले विसं २०७६ मंसिर २ गतेको आदेशले थुनामा रहेका प्रतिवादी उत्तम कार्कीलाई बयानमा १० बजे अदालत उपस्थित गराउनुपर्नेमा नगराएपछि अदालतले यस्तो चेतावनी दिएको हो।
जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले बिहीबार बयानका लागि लापरवाह गरी दिनको ३ बजेमात्र उपस्थित गराएपछि यस्तो आदेश गरेको हो। जिल्ला अदालतले शुक्रवार १० बजे बन्दीसहित कारागार प्रमुखलाई उपस्थित हुनुपर्ने नत्र ५ हजार जरिवाना गर्ने चेतावनी जिल्ला अदालतले दिएको छ।
विसं २०७६ मंसिर २६ गते तोकिएको समयमा उत्तम कार्कीलाई बयानको लागि इजलाससमक्ष उपस्थित गराउनुपर्नेमा ३ बजेसम्म पनि इजलाससमक्ष उपस्थित नगराई अदालतको आदेशलाई बेवास्ता गरी बसेको जिल्ला अदालतको निश्कर्ष थियो।
प्रतिवादीको बयान कार्य सम्पन्न गरी बहस पश्चात् थुनछेक आदेश तयार गर्न समयाभाव हुने भएकोले समयमै प्रतिवादीलाई इजलाससमक्ष उपस्थित नगराउँदा न्याय सम्पादनमा अवरोध सृजना हुने जिल्लाको आदेशमा उल्लेख छ।
समयभित्र अदालतको आदेश कार्यान्वयन नगरी अदालतको आदेश उलङ्घन गरेको खण्डमा कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौँमा हाल कार्यरत कार्यालय प्रमुखलाई न्याय प्रशासन ऐनअनुसार अवहेलनामा कारवाही हुने जिल्ला अदालतको आदेशमा उल्लेख छ। यसरी जरिवाना गर्न उनको पारिश्रमिकबाट कट्टा गर्न पनि जिल्ला अदालतको आदेशमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।