अब ९ बजेपछि स्कुलबस चलाउन नपाइने

नेपाल लाइभ | २०७६ मङ्सिर २६ बिहीबार | Thursday, December 12, 2019 १७:४२:०० मा प्रकाशित

काठमाडौं- काठमाडौं उपत्यकाका स्कुल बस अबदेखि बिहान ९ बजेपछि चलाउन नपाइने भएको छ।

ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै सरकारले बिहान ९ बजेपछि स्कुल बस सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। 

बिहान अफिस समयमा निजी तथा सार्वजनिक सवारीको अत्याधिक चाप हुने समयमा स्कुल बससमेत सडकमा निस्कँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको सरकारी निश्कर्ष छ। उपत्यकाको ट्राफिक व्यवस्थापनबारे बिहीबार प्रधानमन्त्री कार्यालयमा सरोकारवालाबीच भएको छलफलले यस्तो निर्णय गरेको हो। 

कार्यालय समयमा स्कुल बस चलाउँदा सवारी आवागमनमा समस्या भएको भन्दै ट्राफिक प्रहरीले विगतदेखि नै उक्त निर्णय गर्नुपर्ने भन्दै आएको थियो।

छलफलमा निजी स्कुल सञ्चालकहरुको संस्था प्याब्सन, एन प्याब्सन, हिसान, अभिभावक महासंघ, शिक्षक महासंघ तथा शिक्षा मन्त्रालयका अधिकारी र उपत्यका ट्राफिक महाशाखाका अधिकारी सहभागी थिए।

छलफलपछि अभिभावक संघले भने सरकारी निर्णय व्यवहारिक नभएको प्रतिक्रिया दिएको छ। विद्यार्थी बोक्ने बसभन्दा पनि कर्पोरेट हाउस तथा अन्य निकायमा काम गर्ने कर्मचारीहरुले प्रयोग गर्ने सवारीका कारण सवारी जाम हुने स्कुल सञ्चालकको भनाइ छ।

यो निर्णय कार्यान्वयनका लागि ट्राफिक प्रहरीले छिट्टै आवश्यक कदम चाल्नेछ।