काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनका लागि मंसिर २७ देखिको समय तोकेको छ। निर्वाचन आयोगद्वारा बिहीबार जारी विज्ञप्तिमा पुस ६ गतेसम्मको समय दिइएको छ।
राष्ट्रियसभाका १८ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ। रिक्त हुने १९ मध्ये एकजनालाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछिन्।
'नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ताको लागि संवद २०७६ मंसिर २७ देखि पुस ६ गतेसम्म १० दिनको अवधि तोकी कार्यालय समयभित्र आयोगको भवनमा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिम ढाँचामा निवेदन दिन आह्वान गरिएको छ', विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।