काठमाडौं- उपभोक्तालाई ट्याक्सी खोज्न सजिलो हुने हेतुले नयाँ एप्लिकेशन ‘ट्याक्सीमान्डु’ सञ्चालनमा आएको छ। बिहीबार एक कार्यक्रमका बीच ट्याक्सीमान्डु एपको सुरुवात गरिएको हो।
प्रविधिमार्फत यात्रु र चालकबीच समन्वय गराउने उद्देश्यले नयाँ एप सञ्चालनमा ल्याएको ट्याक्सीमान्डु सर्भिस प्रालिले जनाएको छ।
एपमार्फत ट्याक्सी बुकिङ गर्दा यातायात व्यवस्था विभागले तोकेको मिटर शुल्कमा १० देखि १२ प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ। उक्त अतिरिक्त शुल्क दूरी अनुसार मिटरमा उठेको शुल्कको १० देखि १२ प्रतिशत लाग्ने ट्याक्सीमाण्डु सर्भिस प्रालिले जनाएको छ।
ट्याक्सी चालक र यात्रुको नागरिकता, लाइसेन्स र फोन नम्बर कम्पनीमा रजिष्टर हुने भएकोले चालक र यात्रु दुवैलाई कुनै प्रकारको जोखिम नहुने कम्पनीको दाबी छ।
एपमा आवद्ध हुने चालकलाई ह्याम्स हस्पिटलमा उपचार गराउदा १० प्रतिशत छुट र औषधीमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। त्यस्तै यात्रुले इसेवाबाट समेत भाडा रकम भुक्तानी गर्न सक्ने छन्।
इसेवाबाट भाडा रकम भुक्तान गर्दा ५ प्रतिशत क्यास ब्याक पाउने अफर समेत दिइएको छ। ट्याक्सीमाण्डु एपमा हालसम्म १ हजार २ सय ट्याक्सी आवद्ध भइसकेको दाबी कम्पनीको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।