काठमाडौं- नेपाल-भारत सीमा विवादसम्बन्धी बैठक कहिले हुन्छ भन्न नसकिने भारतीय विदेश मन्त्रालयले जनाएको छ।
नियमित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले भने, ‘यो मञ्चबाट म यो विषयमा केही बताउन सक्दिनँ।’
‘यो विषयमा जे हुने हो, त्यो कुटनीतिक च्यानलबाटै हुनेछ,’ उनले थपे।
भारतले सार्वजनिक गरेको पछिल्लो राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र भारतीय भूमीभित्र समेटिएकोप्रति पछिल्लो समय नेपालमा भारत सरकारको चौतर्फी विरोध हुँदै आएको छ।
यसैबीच सीमा विवाद समाधानका लागि नेपाल भारतबीच परराष्ट्र सचिवस्तरीय संयन्त्र बनेको छ। भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेश सचिव विजय केशव गोखलेसँग संयन्त्रको बैठक राख्ने विषयमा प्रस्ताव गरेका थिए।
सीमा विवादकै विषयलाई लिएर केही समयअघि नेपालले भारतलाई कुटनीतिक नोट पनि पठाएको थियो। त्यसमा विदेश सचिव स्तरीय बैठकको प्रस्ताव पनि गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।