‘बहुपति प्रथा पीडित’ सांसद आफ्नै कथा भन्न जब फिल्मी पर्दामा झुल्किए

डिबी खड्का | २०७६ मङ्सिर २७ शुक्रबार | Friday, December 13, 2019 १८:००:०० मा प्रकाशित


काठमाडौं- प्रतिनिधिसभाका सांसद हुन्, छक्कबहादुर लामा।

राज्य व्यवस्था तथा सुशासन समितिमा कानुन निर्माणको क्रममा उनी दोहोर्‍याइरहन्छन्, ‘छेउछाउ र सिमान्तकृत समाजलाई पनि हेरेर बनाउनुपर्छ है माननीयज्यूहरु।’ 

उनले निरन्तर तिनै वाक्य दोहोर्‍याइरहने भएपछि सांसदहरु गलल्ल हाँस्छन्।  

उनले दोहोर्‍याइरहने ती शब्दभित्र कहीँ न कहीँ आफ्नै जीवनको भाग लुकेको अनुभूत धेरैले काठमाडौंमा भइरहेको ‘काठमाडौं माउन्ट फिल्म फेस्टिवल’को एउटा फिल्म हेरेपछि गर्छन्। 

फिल्मको नाम हो ‘सहायक श्रीमान्’। गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री बहुपति प्रथामाथि छ। हुम्ला जिल्लाको बहुपति प्रथाका विविध आयाम छन्। विभिन्न परिवारका कथा छन्। तिनै कथाभित्र आफ्नो कथा पनि घोलिरहेका हुन्छन् सांसद लामा।

जब सांसद लामा आफू यही बहुपति प्रथाको एक विद्रोही पात्रका रुपमा प्रस्तुत हुन्छन्, हेर्नेहरु चकित पर्छन्। किनभने उनी ‘बहुपति प्रथा’का एक पीडित हुन्। विद्रोही हुन्। 

यसरी भनौं, विद्रोही भएका कारण उनी पीडित हुन पुगे। सुरुमा प्रेम विवाह गरेर श्रीमती भित्र्याए। प्रचलनअनुसार उनले भित्र्याएपनि दाजुभाइकै हक लाग्ने भयो। परम्पराअनुसार अन्य दाजुभाइलाई हक जमाउन मुस्किल भएन। 

पढलेख गरेर समाज परिवर्तन गर्न हिँडेका उनको मनले ‘सहायक श्रीमान्’ हुन मानेन। दाजुले हक जमाएकी पूर्व श्रीमती भाउजुका रुपमा स्वीकारेर उनले अर्को बिहे गरे। 
अर्को बिहे गर्नुको परम्परा र संस्कृति विपरीतको काम हो। त्यसैले उनी परिवार र समाजबाट परित्यक्त भए। 

राजनीतिक यात्रा सुरु गरे। राजनीतिक दलले पत्याए। हुम्लाकै जनताले पत्याए। सांसद मात्रै होइन, सहायक राज्यमन्त्रीसम्म भइसकेका उनी आफ्नै घर जान सकिरहेका छैनन्। 

बहुपति प्रथाका विषयमा जानकारी दिने क्रममा डकुमेन्ट्रीभित्र भन्दै थिए, ‘समाज र घरमा अझै स्वीकारिएको छैन। गाउँ जाँदा आमालाई कोशेली लिएर गएको थिएँ। आमालाई भेट्न माथि उक्लिन सकिनँ। बाहिरै राखेर निस्किएँ।’

डकुमेन्ट्रीमा उनीबाहेक पनि केही विद्रोही छन्। जो  भाउजुलाई श्रीमती स्वीकार्न नसकेर अर्को विवाह गरेपछि परिवारबाट परित्यक्त छन्। 

तीनवटा दाजुभाइकी एउटै श्रीमतीको कथा छ। जसले परम्परालाई धानेकी छन्। परिवार धानेकी छन्। उनले यसलाई स्वभाविक रुपमा लिएर जीवन चलाइरहेको पाण्डेले डकुमेन्ट्रीमा देखाएका छन्। सुन्दा हेर्दा आङ जिरिङ्ग हुने कथाकी पात्र बेफिक्री र बिन्दास छिन्। 

चार वर्षको अथक प्रयासबाट डकुमेन्ट्रीलाई यो रुप दिन सकेको निर्देशक पाण्डे बताउँछन्। सुरुमा तीन गाउँका ९ परिवारका कथामाथि उनले डकुमेन्ट्री बनाउन सुरु गरेका थिए। अहिले तीनवटा परिवारलाई लिएर ३९ मिनेटको ‘प्याकेज’ बनाएका छन्।

प्याकेजभित्र एक आदिबासी समुदायको यथार्थता छ। बाह्य समाजले पार्दै गएको प्रभावसँगै आइरहेका बदलाव छन्। हिमाली भेगको कष्टकर जनजीवन छ। दुःखविरुद्धको पाचन प्रणाली विकास गरेका महिलाहरु छन्। श्रीमतीका साथै ‘असल म्यानेजर’को भूमिका निर्वाह गरेर घर चलाइरहेका साहसी पात्रहरु छन्। 

यो दूरदराजका गाउँहरुको बाध्यताले निर्माण गरेको एउटा परिस्थितिको कथा रहेछ। जुन समुदायको मुख्य पेशा भेडा, याक, चौरीपालन हो। तिनै वस्तुभाउहरुबाट नुनचामलको ओसारपसार गरेर जिविकोपार्जन गर्छन्। सिमिति सम्पत्तिलाई बाँडेर अभावग्रस्त नबनाउने एक परिवार एउटै रहनका लागि चलाइएको चालचलन रहेछ। 

भूकम्पपछि ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्री बनाएका थिए पाण्डेले। त्यसले देशविदेशमा पाएको चर्चाबाट हौसिएका उनले बलशाली नयाँ कथा खोज्ने क्रममा ‘बहुपति प्रथा’लाई भेटेका रहेछन्। 

हिउँ परिरहेकै याममा खिचिएको डकुमेन्ट्री बनाउनुका अनेक दुःख छन् उनीसँग। चार वर्षदेखि उनी निरन्तर हुम्ला-काठमाडौं भइरहेका छन्। आर्थिक रुपमा पनि नेपाली फिचर फिल्म बनाउने पैसा बराबरकै खर्च रहेको बताउँदै थिए उनी। 

किम्फमा ‘प्रिमियर’ हुने फिल्मको प्रतिक्रियालाई लिएर शुक्रबार उनी व्यग्र थिए। अलिकति उत्साह र अलिकति कौतुहलता मिसिएको अनुहार लिएर यताउति गरिरहेका थिए। जब फिल्म सकिएपछि तालीको पर्रा छुट्यो, मध्यक्रमको कुर्सीमा बसिरहेका पाण्डेको सदाबहार मुस्कानको मुल फुट्यो। 

जब दर्शकदीर्घाबाट जिज्ञासा, बधाइ र थप जान्ने आकांक्षाका साथ हातहरु उठ्न थाले उनी उत्साहित हुँदै गए। 

त्यसपपछि उनले अर्को खुशी बाँडे, ‘थप पाँच फिल्म फेस्टिवलका लागि यो डकुमेन्ट्री छनोट भइसक्यो।’

धेरैले सुनेको तर धेरै कमले देखेको एउटा संस्कृति हेरेर निस्किएका अधिकांश दर्शक निकटस्थ आफ्नो अनुभूति सुनाउँदै थिए। अनुभूतिको केन्द्रमा थिए, सांसद छक्क लामा। पर्दामा जसको उपस्थिति र अनुभूतिले धेरैलाई चकित पारेको थियो।