सरकार ! ट्याक्सीमा भिजिट नेपालको स्टिकरमात्रै टाँस्ने कि मिटर भाडा कार्यान्वयन गर्ने 

नेपाल लाइभ | २०७६ मङ्सिर २८ शनिबार | Saturday, December 14, 2019 ०८:००:०० मा प्रकाशित

काठमाडौं- सरकारले भ्रमण वर्ष २०२० लाई सफल पार्न सार्वजनिक सवारीमा भिजिट नेपालको स्टिकर टाँस्ने निर्णय गर्‍यो, त्यसमा व्यवसायीहरु पनि सहमत भए। त्यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईले बिहीबार काठमाडौं उपत्यकामा सञ्चालित ट्याक्सीमा समेत भिजिट नेपालको स्टिकर आफैले टाँसे। 

यसअघि मन्त्री भट्टराईकै अगुवाइमा लामा तथा छोटो दूरीमा चल्ले सवारीमा भिजिट नेपालको स्टिकर टाँसिएको थियो। नेपाल भ्रमणमा आउने पर्यटकले काठमाडौं उत्रिएपछि ट्याक्सीमा यात्रा गर्ने भएकाले ‘मन्त्री भट्टराइले भिजिट नेपालको प्रचासप्रसारका लागि ट्याक्सी चालकलाई सचेत गराउनु र ट्याक्सीमा स्टिकर टाँस्नु राम्रो हो,’ पर्यटन मन्त्रालयका एक सहसचिवले भने, ‘गौंडा ढुकेर यात्रु ठग्ने, सरकारले तोकको मिटरमा नजाने, सडकमा दादागिरी गर्ने ट्याक्सीलाई नियमन गर्न चुकियो भने त्यसको कुनै अर्थ छैन।’ निमयन नगरी ट्याक्सीमा स्टिकर टाँस्नु भनेको ट्याक्सीको ठगिलाई वैधानिकता दिनुसरह भएको उनको भनाइ छ। 

भिजिट नेपाललाई लक्षित गरी नेपाल पर्यटन बोर्डले समेत ट्याक्सी चालकलाई सचेतनासहितको कार्यक्रम गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले बताए। ‘हामीले जनचेतना र तालिमको माध्यमबाट सुधार गर्ने प्रयासमा लागिरहेका छौं,’ उनले भने, ‘ट्याक्सी चालकहरुलाई दूरगामी असर र त्यसको प्रभावको विषयमा तालिम तथा सचेतनाको कार्यक्रम गरिरहेका छौं।’ 

हामीले मनलाग्दी पैसा लियौं भने पर्यटकले नेपालमा ठगी हुन्छ भनेर प्रचार गर्नेछन्। जसका कारण नेपाल आउने पर्यटकको संख्यामा कमी हुँदै जानेछ। यसले आर्थिक आयमा पनि प्रभाव पार्नेछ। यस्तो विषयमा बोर्डसहित अन्य निकायले समेत चासो दिनुपर्ने जोशीको भनाइ छ। 

उपत्यकामा सञ्चालित ट्याक्सीले एयरपोर्ट, अस्पताल, फिल्‍म हल, कार्यक्रम हुने ठाउँ, धेरै भिडभाड हुनेलगायत स्थानमा धेरै वार्गेनिङ गर्दै आएका छन्। यी ठाउँमा रहेका ट्याक्सीले मिटरमा जाने त कुरै छाडौं वार्गेनिङ पनि मनलाग्दी गर्ने र धेरै पैसा आउने भएमात्र जाने गरेका छन्। 

यातायात व्यवस्था विभागले मिटरजडित ट्याक्सीमा सुरुमा १४ रुपैयाँ र प्रतिकिलोमिटर ३९ रुपैयाँ भाडा कायम गरेको छ। मिटर बिगारेर गुड्ने ट्याक्सीको संख्या पनि कम छैन। बिगारिएको मिटर अनुगमन र नियमन गर्ने जिम्मा भने नापतौल तथा गुणस्तर विभागको हो। 

ट्याक्सीको भाडा कायम यातायात व्यवस्था विभागले गर्ने, मिटरको अनुगमन नापतौल विभागले गर्ने र नियम ट्राफिक प्रहरीले गर्दै आएको छ। तर उपत्यकामा सञ्चालित ट्याक्सीमध्ये ५ प्रतिशत पनि मिटरमा जान मान्दैनन्। 

ट्राफिक प्रहरीले भने मिटरमा नजाने ट्याक्सीलाई कारबाही गर्न ‘हाउमच’ टोली नै बनाएको छ। यो टोलीले मिटरमा नजाने ट्याक्सीलाई कारबाही गर्दै आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए। ‘हामीले बढी भाडा लिने र मिटरमा नजाने ट्याक्सीलाई कारबाही गर्न छुट्टै हाउमच टोली नै बनाएका छौं,’ उनले भने, ‘उक्त टोली र समग्र ट्राफिक प्रहरीले मिटरमा नजाने, बढी भाडा लिने ५० भन्दा बढी ट्याक्सी दैनिक रुपमा कारबाही गर्दै आएको छ।’ 

भ्रमण वर्ष २०२० मा ट्याक्सीलाई मर्यादित बनाउन ट्राफिक प्रहरी लागिपर्ने ढकालको भनाइ छ। मिटरमा जान नमान्ने र भनेको ठाउँमा जान नमान्ने प्रवृत्ति धेरै भएकाले यसको अन्त्य गर्न सबै लाग्नुपर्ने र ट्राफिक प्रहरीले यसमा महत्वपूर्ण भुमिका खेल्ने उनले बताए।