काठमाडौं– फिल्म निर्देशकहरुलाई यतिबेला चुनाव लागेको छ। कारण, मंसिर २८ गते भोलि (शनिबार) नयाँ कार्यसमिति चयनका लागि अधिवेशन हुँदैछ।
अधिवेशनमा वर्तमान अध्यक्ष सुचित्रा श्रेष्ठले पुनः अध्यक्षमा उठ्ने तयारी गरेकी छिन्। सुचित्रासँगै अध्यक्ष पदका लागि दिनेश डिसी, रक्षासिंह राणा र राजु केसीको नाम पनि प्रतिष्पर्धीका रुपमा चर्चामा छ।
त्यस्तै अहिलेसम्म उपाध्यक्ष पदका प्रतिष्पर्धामा राजेन्द्र उप्रेती र विजयरत्न तुलाधारको नाम सुनिएको छ। महासचिव पदमा जनकदीप पराजुली, समीर बलामी, जनकराज पौडेल र दिनेश लिङ्देनको नाम चर्चामा छ।
चुनावका लागि पार्टीगत प्यानल नै खडा भइरहेको चर्चा छ। नेकपा निकट चलचित्रकर्मी संगठनका अध्यक्ष समेत रहेका दिनेश डिसी नेकपाका तर्फबाट चुनाव उठ्दैछन् भने काँग्रेस प्यानलका तर्फबाट सुचित्राको नाम छ। अध्यक्षका अर्का प्रत्यासी राजु पनि नेकपाकै हुन्। उनी माओवादी निकट हुन् भने डिसी एमाले निकट।
त्यस्तै महासचिवमा काँग्रेस उम्मेदारका तर्फबाट जनकदीपको नाम सुनिएको छ भने एमालेका तर्फबाट समिर बलामी।
यसरी अभिव्यक्ति स्वतन्त्रताका पक्षधर मानिने निर्देशकको चुनावमा राजनीतिक रङ देखिएपछि यसको फिल्म निर्देशकहरुले नै खुलेर विरोध गरिरहेका छन्।
‘फिल्म निर्देशकहरु पनि कम्युनिस्ट र कांग्रेसको प्यानलबाट चुनावमा उठ्नु निकै दुर्भाग्यपूर्ण हो। अभिव्यक्ति स्वतन्त्रताका पहरेदार हुनुपर्ने निर्देशकहरु पार्टी कार्यालयका द्वारपाल हुन थालेपछि नेपाली फिल्मको कलात्मकता बढ्छ त?,’ फिल्म निर्देशक दीपेन्द्र लामाले फेसबुकमा प्रश्न गर्दै लेखेका छन्।
दीपेन्द्रको स्टाटसमा सहमती जनाउँदै कलाकार तथा निर्माता दीपकराज गिरीले कमेन्ट गरेका छन्, ‘ आहा, त्यहि भएर तपाईसँग मेरो कुरा मिल्छ।पार्टी भन्दा ठूलो र सम्मानित नाम आफ्नै छ। किन त्यो पार्टी र नेताको पछि लाग्ने होला? हरे शिब!’
त्यस्तै निर्देशक बसन्त निरौलाले चलचित्र निर्देशक समाजको निष्क्रियतालाई व्यंग्य गर्दै लेखेका छन्, ‘चलचित्र निर्देशक समाज पनि छ र नेपालमा? शनिबार चुनाव हुँदै छ रे भोट हाल्न जानु पर्छ है, हाम्रोलाई हैन राम्रोलाई दिन पर्छ, गल्ती नगर्नु होला भेटेर सल्लाह गरौं।’
त्यस्तै चुनावका लागि उम्मेद्धारी घोषणा गरिरहेका निर्देशकहरुलाई फिल्म कलाकार एवम् निर्देशक निर्मल शर्माले सुझाव दिएका छन्, ‘चलचित्र निर्देशक समाजको चुनाव हुदैरहेछ। सम्पुर्ण उम्मेद्धारहरुलाई शुभकामना। केहीलाई छोडेर लगभग प्रायःनिर्माताहरु हजुरहरुकै कुरा पत्याएर फिल्ममा पैसा लगानी गर्ने भएकोले पहिलो चुनावी एजेण्डामा ‘निर्माता बचाउ समाज’ अभियान पनि राख्नु होला। याद राख्नुस् निर्माता बिना यो नगरी दुलही अन्माएको घर जस्तै हुन्छ नि।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।