यो साता निरन्तर बढेपछि नेप्से परिसूचक तीन महिनायताकै उच्च बिन्दुमा

नेपाल लाइभ | २०७६ मङ्सिर २८ शनिबार | Saturday, December 14, 2019 १२:४०:०० मा प्रकाशित

काठमाडौं- यो साता निरन्तर बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन महिनायताकै उच्च बिन्दुमा पुगेकाे छ। यो साता नेप्से परिसूचक ३७ दशमलव ३ अंकले बढेको छ भने सातामा तीन दिन दोहोरो अंकको वृद्धि देखिएको छ।

सातामा कारोबारको पहिलो दिन आइतबार ३ दशमलव ४५ अंकले बढेको परिसूचक सोमबार १३ दशमलव ५१ अंकले बढेको थियो।

त्यस्तै मंगलबार २ दशमलव ४८ अंकले बढेको परिसूचक बुधबार १० दशमलव ११ अंक बढ्यो। कारोबारको अन्तिम दिन बिहीबार ११ दशमलव १७ अंकको वृद्धि देखिएपछि परिसूचक १ हजार १ सय ७२ दशमलव ६४ अंकमा कायम भएको छ।

यो साताकाे कारोबारपछि पछिल्लो तीन महिना यताकै उच्च बिन्दुमा पुगेको छ। गत असोज १ गते नेप्से १ हजार १ सय ७३ दशमलव ४३ को अंकमा कायम भएको थियो भने त्यसपछि नेप्से निरन्तर घट्दो क्रममा थियो।

गत भदौ १० गते नेप्से १ हजार २ सय बिन्दुभन्दा तल झरेको थियो।