पोखरा- नेपालको मौलिक सम्पत्ति मानिने लोकगीतलाई नयाँ पुस्ताले कसरी बुझिरहेका छन् त?
पछिल्लो समय चर्चामा आएका निकै व्यस्त लोक गायक प्रकाश सपुत भन्छन्- हाम्रो पुस्ता निकै अभागी पुस्ता हो। म आफैं पनि केलाई लोक गीत मान्ने भनेर कन्फ्युज छु।
पोखरामा आयोजित नेपाल आइएमई लिट्रेचर फेस्टिबलको दोस्रो दिनको पहिलो सेसन थियो 'लोक गीत कि लोकप्रियता'। वक्ताहरू थिए अग्रज लोकगायिका हरिदेबी कोइराला, रैथाने संगीतमा काम गरिरहेकी गायिका झुमा लिम्बु र लोकप्रिय गायक प्रकाश सपुत।
सेसनको प्रस्तोता थिए नेपाल लाइभका सम्पादक नारायण अमृत। बहसमा गायिका कोइरालको भने नयाँ पुस्ताले लोक गीतलाई सस्तो बनाउन खोजेको आरोप थियो। उनले भनिन्, 'व्यावसायिकताको नाममा लोकगीतलाई अहिलेको पुस्ताले बिगारेको छ।'
गायिका झुमा भने नयाँ पुस्ताले लोक गीतबारे बुझ्न नसक्नुमा राज्यको कमजोरी भएको मत राख्छिन्। उनले भनिन्, 'हाम्रो लोक संगीतको पढाइ नै काम नलाग्ने पढाइ भएको छ। हाम्रो हरेक भुगोल र समुदायमा मौलिक गीतहरू छन्। सबै नेपालको लोक संगीतलाई गाउँ गाउँबाट ल्याएर नयाँ पुस्तालाई राज्यले बुझाउन सक्नुपर्छ।'
रैथाने संगीतको विषयमा करिब ८ वर्ष लगाएर अध्ययन गर्दै नयाँ काम गर्ने प्रयास गरिरेकी झुमा लोक गीत कसको लागि बनाउन लागिएको हो त्यसबारे बनाउने मान्छे प्रस्ट हुनुपर्ने बताउँछिन्। 'हामीले हाम्रो गीत विश्वसामु पुर्याउने कि एउटै समुदायको लागि। हामीलाई चिनाउन लोक संगीतमा अलि गहिएर हेर्नुपर्छ। हाम्रो संगीतबारे बोल्न सक्नुपर्छ,' झुमाले भनिन्।
अहिलेको लोकप्रियता र पहिलेको लोकप्रियतालाई मापन गर्ने आधारहरू फरक छन्। 'त्यो बेलामा लोकप्रियता जाँच्ने कसी के थियो?' बहसको सहजीकरण गरिरहेका नारायण अमृतले गायिका हरिदेबीलाई प्रश्न गरे।
'एउटा रेडियो नेपाल थियो। जब रेडियोमा गीत बज्थ्यो। गाउँमा चर्चा हुन्थ्यो,' हरिदेवीले स्मरण गर्दै भनिन्, 'जनमानसले नै गहिराईको साथ लोकप्रियताको मनन गर्थ्यो। कतिले त मेरो गीत आफ्नै कथाबारे लेखिछन् भनेर अड्कल काटे।'
त्यो समय व्यावसायिकताको लागि भन्दा पनि आफ्नै रुचिको लागि गीत गाएको उनले बताइन्।
'मेरो गीत कस्तो रैछ भनेर 'पाइनँ खबर' रेकर्ड गर्दा त्यो गीत लोकप्रिय भयो। त्यसपछि मैले पनि लोक गीतमा केही गर्नुपर्छ भनेर म आएँ,' हरिदेवीले प्रसंग उप्काइन्।
'पहिलाको समय गाउँमा गएर टेप रेकर्डबाट लोक गीत संकलन गरिन्थ्यो। तर अहिले त्यो अवस्था छ त,' नारायण अमृतले प्रकाश सपुततर्फ प्रश्न तेर्स्याए।
अहिले पहिला जस्तो छैन। म अर्को गीतका लागि जिल्ला गएर सम्भव छैन। चोखो भाका अहिले पाउँदैन,' प्रकाशले स्वीकार गर्दै भने, 'अहिले हामी पुरानो भाकाबाट प्रभावित हुन्छौं।'
आफूले बाँचेको समयको लोक गीत बनाउँदा अरुले नस्वीकारिदिने प्रकाशको गुनासो छ। चर्चामा आइरहेका प्रकशको अपोजिट छिन् गायिका झुमा। जो लोकप्रियता नभए पनि रैथाने संगीतमा निरन्तर लागिरहेकी छन्।
सहजकर्ता अमृतको त्यो दुस्साहस के का लागि भन्ने प्रश्नमा उनले भनिन्, 'संगीत गर्न र कमाएर खान सकिन्छ। यदि संगीत समाज वा संगीतैको लागि हो भने आफ्नो लागि गर्नुपर्छ। स्रोत नपाउनु गाह्रो हो। ८ वर्ष मैले रिसर्च गर्दा मैले हाम्रो संगीत कहाँ छ भनेर बुझें।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।