जनकपुर– धनुषाको क्षिरेश्वरनाथ नपा ५ मा भएको बम विस्फोट घटनाबारे छानबिन गर्न धनुषाका इन्स्पेक्टर उमाशंकरप्रसाद साहको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिले अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक अवधेश यादवले जानकारी दिए ।
घटनामा सलग्न भएको आशंबकामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धनुषाको मुसरनीया बस्ने रामसुरेश महतो, धनुषाको गणेशमान चारनाथ नगरपालिका १० बरमझिया बस्ने रामजी साह तेली, हँसपुर नगरपालिकाको बघचौडा २ बस्ने ललिता देवी महरा, सीता देवी महरा र मिथिलाविहारी १ भूतही पटेर्वा बस्ने राम सुदिप दाहा धानुक छन्। पक्राउ पर्नेहरु नेत्रविक्रम चन्द बिप्लव समूहका कार्यकर्ता हुन्।
विष्फोटमा विप्लव समूहको संलग्नता हुनसक्छः नेपाल प्रहरी
विष्फोटमा नेत्रविक्रम चन्द विप्लव समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ। चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए। उनीहरूले कुकर बम विष्फोट गराएको अनुसन्धानमा देखिएको उनले जानकारी दिए।
डिएसपी कार्कीेले भने, ‘मृतक राजेश साहको व्यक्तिगत रिसइबीका कारणले बम राखेको हुनसक्छ, विप्लव समूहले दशैँका बेला साहलाई चन्दाका लागि पत्र पनि पठाएको रहेछ, पैसा नदिएपछि यो घटना घटाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बमभित्र फलाम, सिसाका टुक्रा, किलासमेत राखेर पड्काएको पाइएको जानकारी दिए। उनले भने, ‘प्रकृति हेर्दा मोबाइलबाट रिमोट कन्ट्रोल गरी विष्फोट गराइएको हुन सक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।