प्रहरीको परीक्षामा सहभागी नक्कली परीक्षार्थीमाथि अनुसन्धान सुरु

नेपाल लाइभ | २०७६ मङ्सिर २९ आइतबार | Sunday, December 15, 2019 ०६:२९:०० मा प्रकाशित

सुर्खेत- लोक सेवा आयोगद्वारा वीरेन्द्रनगरमा सञ्चालित नेपाल प्रहरीको लिखित परीक्षामा सहभागी २२ नक्कली परीक्षार्थी रहेको खुलेको छ। विभिन्न परीक्षा केन्द्रमा आज प्रवेशपत्र जाँचका क्रममा फेला परेका ती परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले नक्कली परीक्षार्थीमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिए। श्रीकृष्ण संस्कृत तथा साधारण मावि केन्द्रबाट १८, इगरब्रिज माविबाट दुई र सुर्खेत क्याम्पस (शिक्षा) बाट दुई गरी २२ नक्कली परीक्षार्थी पक्राउ गरिएको उनले जानकारी दिए।

'केहीले आफन्तलाई सहयोग र केहीले पैसा लिएर परीक्षामा सहभागी भएको पाइएको छ, यस सम्बन्धमा विस्तृत अनुसन्धान गर्दैछौँ,' प्रहरी उपरीक्षक पन्तले भने। जवान पदको लिखित परीक्षामा तीन हजार ३०० परीक्षार्थी सहभागी थिए।