सिड्नी- नेपथ्य ब्याण्डले अस्ट्रेलियाकाे सिड्नीमा तेस्राेपटक आफ्नाे प्रस्तुती दिएकाे छ। नेपथ्यकाे शनिबार भएकाे कन्सर्टमा पनि सिड्नीका दर्शकहरु सँधैजस्तै तरंगीत भए।
कार्यक्रममा २९ सय ५० दर्शक क्षमताको लुनापार्कस्थित ‘बिगटप अडिटोरियम’ टनाटन थियो। कार्यक्रमका लागि अनलाइनबाट टिकट खरिद विक्री भएकाे थियाे।
नेपथ्यको व्यवस्थापन गर्दैआएको संस्था नेपालयले कार्यक्रममा ‘अनलाइन टिकट’लाई नै स्थापित गर्ने प्रयास गर्दैआइरहेको छ। सिड्नीमा यस वर्ष नेपथ्य कन्सर्टका शतप्रतिशत टिकट ‘अनलाइन’बाटै विक्री भएर नयाँ रेकर्ड कायम हुनपुगेको हाे।
नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यत्रो ठूलो आयोजनालाई पूर्णतया अनलाइनको पोल्टामा सुम्पनु धेरै ठूलो जोखिम थियो, जसलाई चूनौतिका रुपमा स्वीकार्न सिड्नीका आयोजक ‘नेपाली टच’ तयार भइदियो र परिणाममा हामीले यति ठूलो सफलता हात पारेका छौं।’
ब्याण्डको उपस्थितीलाई अझ भब्य बनाउन सदाबहार र नयाँ गीतहरुको सन्तुलित चयन मात्र नभइ प्राविधिक हिसाबले पनि अझ स्तरिय प्रस्तुतीको प्रयास गरिएको थियो। अष्ट्रेलियाभरमै सबैभन्दा बढी नेपाली बसोबास गर्ने यो सहरमा नेपथ्यले सन् २००९ मा आफूलाई पहिलोपटक उभ्याएको थियो। नेपथ्यले पाँच पटकसम्म आफूलाई प्रस्तुत गरेको नेपालकै सहरहरुमा पनि केवल काठमाडौं, पोखरा, बुटवल, चितवन, हेटौंडा र धनगढी मात्र रहेको अवस्थामा मुलुक बाहिर सिड्नी पनि बन्नपुगेको छ।
नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘अहिले भन्दा थोरै नेपालीहरु बसोबास गर्दाको पहिलो कन्सर्ट म झल्झली सम्झन्छु। यो दश वर्षको बीचमा नेपालीहरुको संख्या धेरै गुणाले बढिसकेको छ। सिड्नी मात्र नभइ विश्वभर यसरी नेपाली समुदायको उपस्थिती बाक्लिँदै गइरहेकोमा खुसी लाग्छ। तर, स्वदेशमा अवसरको अभाव भएकैले यसरी नेपालीहरु बाहिरिन बाध्य भएको सत्य आत्मसात गर्नुपर्दा चाहिँ तितो लाग्दो रहेछ।’ अमृतले यसरी ‘ब्रेन’ र तन्नेरीहरुको ‘ड्रेन’ छिट्टै थामिएर नेपाल आफैँमा अवसरहरुले भरिएको एक समृद्ध मुलुक बन्ने विश्वास पनि प्रकट गरे।
कन्सर्टमा गीत संगीतसँगै नेपालका हिमाल, पहाड र तराइका दृश्यहरु पनि देखाइएकाे थियाे। पर्दामा प्रस्तुत तस्बिरहरुले गुञ्जँदै गरेका गीतहरुको भावभूमि देखाउँथ्यो। सिड्नीको कन्सर्ट सम्पन्न भएसँगै यस वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलाको अन्त्य डिसेम्बर २३ मा मेलबर्नको ‘द पाम्स एट क्राउन’मा पुगेर हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।