काठमाडौं- अझै केही दिन सामान्य वर्षा र हिमपात जारी रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार पनि वर्षा र हिमपातको सम्भावना छ।
आइतबार दिउँसो देशका अधिकांश भू-भागमा सामान्य बदली रहने छ भने पश्चिमी भू-भागका थोरै स्थानहरु तथा मध्य र पूर्वीपहाडी भू-भागमा हल्का वर्षा हुने सम्भावना छ। हिमाली भू-भागमा भने हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। हिमाली भू-भागहरुमा हल्का हिमपात हुने सम्भावना छ।
महाशाखाका अनुसार सोमबार दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
मंगलबार दिउँसो भने देशको केही पहाडी भू-भागमा आंशिक बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति देशको केहि पहाडी भू-भागमा आंशिक बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टामा केही उच्च पहाडीसहित हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले ती स्थानहरुमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
हुस्सु र शितलहर
अहिले पूर्वी तराईका केही भू-भागमा बाक्लो हुस्सु/कुहिरोको लागेको छ भने मध्य र पश्चिमी तराईका भू-भागमा सामान्य हुस्सु लागेको छ।
महाशाखाका अनुसार आगामी २४ घण्टासम्म शितलहरको सम्भावना छैन। तर, पश्चिम तराईमा अहिले सामान्य हुस्सु लागेको छ र यो अपरान्ह सम्म हट्नेछ।
मध्य तराईमा सामान्य हुस्सु लागेको छ र अपरान्ह सम्म हट्नेछ। त्यस्तै पूर्व तराईमा अहिले बाक्लो हुस्सु/कुहिरो लागेको छ र दिउँसो सम्म यो हट्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।