काठमाडौं- कुनै वस्तुको अभाव सिर्जना गरेर मूल्यवृद्धि गर्नु कानुन विपरीत हो। उपभोक्ता संरक्षण ऐनको दफा १८ को उपदफा ‘घ’ मा ‘एकै प्रकृतिका वस्तु उत्पादक, पैठारी वा बिक्रीकर्ता, व्यापारी वा व्यापारिक समूह मिली त्यस्तो वस्तुको अभाव सिर्जना गरी मूल्य तथा आपूर्ति व्यवस्थापनमा प्रभावपार्न नहुने’ व्यवस्था उल्लेख छ।
तर, चल्ला उत्पादक व्यापारीहरुले भने अहिले मासु र अण्डाको मूल्यमा गिरावट आएका कारण १० दिनसम्म उत्पादन बन्द गर्ने र मूल्य बढाउने भन्दै शनिबार सार्वजनिक घोषणा गरे। चितवनमा शनिबार सम्पन्न नेपाल ह्याचरी उद्योग संघको राष्ट्रिय भेलाले कुखुराको मासु र अण्डा बजारमा गिरावट आएको भन्दै संघले १० दिनसम्म देशभर चल्ला उत्पादन ठप्प पार्ने जनाएको छ।
मौजुदा कानुनको ठाडो उल्लंघन हुने गरी व्यापारीहरुले यस्तो धोषणा गरेपनि कानुनको उल्लंघन भएको विषय र उपभोक्ता अधिकार हनन् भएको विषयमा भने सम्बन्धित पक्षले ध्यान पुर्याएको छैन। उपभोक्ता हित संरक्षण ऐनको कार्यान्वयन गर्नु/गराउनु सबै तहका सरकारी निकायको कर्तव्य हो। तर, व्यवसायीहरुले ‘कार्टेलिङ’ गर्ने उद्देश्यले गरेको यस्तो घोषणाका बारेमा भने कुनै पनि सरकारी निकायले अहिलेसम्म मुख खोलेका छैनन्।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सेना व्यापारीहरुले कार्टेलिङ गर्ने उद्देश्यले गरेको यस्तो घोषणा कानुन विपरीत रहेको र सरकारी निकायले कारबाही प्रकृया अगाडि बढाउनुपर्ने बताउँछन्। ‘एक त अहिलेको कानुनले यस्ता संघ, संगठनलाई नै चिन्दैन। अर्को कुरा मूल्य बढाउनका लागि अभाव सिर्जना गर्ने व्यापारीको मनसायमाथि गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतका निकायले तत्काल कारबाहीको प्रकृया अगाडि बढाउनुपर्छ,’ तिमल्सेनाले भने।
ह्याचरी उद्योग संघको चितवन भेलाले विगत एकवर्षदेखि चल्ला, अण्डा र मासुको मूल्यमा गिरावट आई उत्पादन लागतसमेत नपाउने अवस्थामा पुगेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ। संघले आइतबार (मंसिर २९) गतेदेखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न मेसिनमा सेट गरिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा भढी उमेरका माउ प्यारेन्ट बिक्री गर्नेलगायतका निर्णय गरेको जनाएको छ।
यसरी १० दिनसम्म चल्ला उत्पादन रोकिँदा ६० लाख चल्ला उत्पादन घट्न सक्ने देखिन्छ। बजारमा कुखुराको अभाव गराइ मासुको मूल्य बढाउने गलत बाटो व्यापारीले लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।