फ्रान्स- फ्रान्सको दक्षिण-पश्चिमी क्षेत्रमा आएको आँधीका कारण दुई जनाको मृत्यु भएको छ। घटनाका कारण त्यस क्षेत्रका हजारौँ घर विद्युत्विहीन भएको अधिकारीहरुले जानकारी दिएका छन्।
घटनामा परी मृत्यु भएका दुवैजना निवृत्तिभरण पाइरहने व्यक्ति रहेको समाचारमा जनाइएको छ। मृत्यु भएकामध्ये एकजना ७० वर्षका रहेका छन्। उनको बास्क्यु काउन्ट्र अन्तर्गत पर्ने प्यरेनीस एट्लान्टीकमा मृत्यु भएको हो।
सवारीसाधनमा रहेका बेला ढलेको रुखले उनलाई च्यापेर मृत्यु भएको जनाइएको छ।
त्यसैगरी लोट एट गारोन क्षेत्रमा ७६ वर्षका अर्का एक वृद्धको मृत्युु भएको विवरण आएको छ। उद्धारकर्ताले उनको शव झण्डै २४ घण्टापछि पत्ता लगाएका थिए। शव घरदेखि एक किलोमिटर टाढा भेटिएको अधिकारीले जनाएका छन्।
उनीहरुका अनुसार अरु पाँच जना घाइते भएका छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। उद्धारकर्ताले उनीहरुलाई च्यापेको रुख हटाएका छन्। घटनास्थलबाट उनीहरुलाई उद्धार गरेर उपचार गर्न लगिएको छ।
शनिबार दिउँसोदेखि त्यस क्षेत्रका झण्डै ४० हजार घरको विद्युत्सेवा अवरुद्ध भएको छ भने बेलुकाको समयमा १५ हजार घरमा विद्युत्सेवा कटौती भएको अधिकारीले जनाएका छन्।
उपभोक्तलाई विद्युत् सेवा जतिसक्दो चाँडो उपलब्ध गराउनका लागि दुई हजार जना प्राविधिक खटाइएको एक प्रवक्ताले जानकारी दिएका छन्।
विद्युत्सम्बन्धी कुनै समस्या भएमा तत्काल जानकारी गराउन सिधा सम्पर्क नम्बरको समेत व्यवस्था गरिएको अधिकारीले जनाएका छन्। प्रभावित क्षेत्रमा ९ मिटरसम्म पानी जमेको स्थानीय बासिन्दाले बताएका छन्। आँधीपछि कतिपय ठाउँमा बाढी र पहिरो पनि आएको छ।
आँधी, बाढी र पहिरोका कारण ६ सयभन्दा बढी विस्थापित भएका छन् । उनीहरुलाई उद्धार तथा सहयोगको काम पनि भइरहेको जनाइएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।