काठमाडौं– भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चालु आर्थिक वर्ष २०७६/०७७ भित्रै अन्तर्राष्ट्रिय उडान (अपरेशन) सञ्चालनमा नआउने निश्चित भएको छ। तर, निर्माण भइरहेको विमानस्थलमा परीक्षण र आन्तरिक उडान भने सम्भव देखिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थल वैशाखभित्रै सञ्चालनमा ल्याउने दाबी गरेपनि त्यो सम्भव नभएको प्राधिकरण स्रोत बताउँछ। विमानस्थलको निर्माण सम्पन्न हुने समय थप ३ महिना लम्बिने निश्चितसँगै चालु आवभित्रै विमानस्थल अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी अपरेशन हुने सम्भावना सकिएको हो।
विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेसँगै चिनियाँ ठेकेदारलाई थप ३ महिनाको समय थप्ने तयारी भएको छ। ‘विमानस्थल सञ्चालनको विषय गफका आधारमा हुँदैन,’ प्राधिकरण स्रोतले भन्यो, ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषय निर्माण सम्पन्न भएको भोलीबाट हुने हैन। यसका लागि सबै अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्नुपर्छ।’
विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार र आइएलएस (इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम), सञ्चार उपकरण, मौसम मापन लगायतको उपकरण जडानसमेत हुनुपर्छ। यो काम सकिएपछि पनि विमानस्थल अपरेशनको लागि केही समय लाग्छ। पूर्वाधार र सञ्चार उपकरण जडानको काम सकेपछि पनि सबै प्रक्रिया पुरा गर्न झन्डै ४ महिनाको समय लाग्छ।
सबै अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी अन्तर्राष्ट्रिय विमानस्थल चालु आवभित्रै सम्भव नभएपनि नयाँ विमानस्थलको रन-वेबाट आन्तरिक उडान र परीक्षण उडान भने सम्भव रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह-सचिवले जानकारी दिए।
किन असम्भव?
विमानस्थलको (आइसीबी जिरो एक) अन्तर्गत पूर्वाधार निर्माणको काम गरिरहेको चिनियाँ कम्पनीको लागि ३ महिनाको समय थपसँगै विमानस्थल २०७६/०७७ भित्रै सञ्चालनमा नआउने निश्चित भएको हो।
योसँगै विमानस्थलको (आइसीबी जिरो २) अन्तर्गतको सञ्चार उपकरणको समय पनि थप हुने भएपछि विमानस्थल अपरेशनको समय चालु आवभित्रै असम्भव देखिएको हो। सञ्चार उपकरण जडानको काम जनवरीभित्रै सम्पन्न गर्नुपर्ने भएपनि यसको समय पनि मार्चसम्म नै थपिने भएको छ।
सबैभन्दा पहिलो विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माण सम्पन्न हुनुपर्छ। त्यसपछि विमानस्थल सञ्चालनका लागि आवश्यक सञ्चार उपकरण जडानको काम हुनुपर्छ। यी दुवै काम सकिएपछि पनि अन्तर्राष्ट्रिय विमानस्थल अपरेशनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले तोकेको केही निश्चित मापदण्ड पुरा गर्नुपर्ने हुन्छ।
तर, सरकारले पनि चालु आवभित्रै विमानस्थल सञ्चालनका लागि झन्डै ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो। साथै नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि विमानस्थलको सञ्चालनको तयारीका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रताबबाबु तिवारीलाई प्रमुख बनाएर पठाइसकेको छ।
विमानस्थल सञ्चालनको लागि पूर्वाधार र उपकरण जडान अब थप हुने मार्चभित्रै सम्पन्न भएको अवस्थमा पनि अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरी विमानस्थल अपरेशन गर्न थप ४ महिनाको समय लाग्छ।
विमानस्थल सञ्चालनका लागि आवश्यक जडान सम्पन्न भई परीक्षण भए मात्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) को मापदण्डअनुसार विमानस्थल सञ्चालनमा ल्याउन पाइन्छ। प्राधिकरणले पहिलो चरणमा आइकाओको क्याटेरिज–८ अन्तर्गत मापदण्डमा रहेर विमानस्थल सञ्चालनको मोडालिटीसमेत तय गरिसकेको छ।
सञ्चार उपकरण कम्पनीले अब थप भएको मार्चसम्ममा जडान गरेको अवस्थामा पनि जडित उपकरणको परीक्षण गर्न प्राधिकरणलाई ३० दिनको समय लाग्छ। त्यस समयमा कम्पनीले प्रारम्भिक रिपोर्ट मात्रै दिन्छ। कम्पनीले फाइनल रिपोर्ट दिन अर्को थप ३० दिनको समय पाउँछ। यी काम सकिनासाथ विमानस्थल सञ्चालनमा ल्याउन पाइँदैन।
यसका लागि फेरि एआइपी (एरोनटिकल इन्फर्मेसन पब्लिकेसन) मा प्रकाशित हुनुपर्छ। यो प्रक्रियाका लागि ५६ दिनको समय लाग्छ। यही सबै काम सरासर भएको अवस्थामा जुलाईसम्मको समय लाग्छ। जुलाईसम्मको समय भनेको विसं २०७७ को साउन १५ गतेसम्म हो।
समय थप किन?
निर्माण कम्पनीले विमानस्थलको संरचना निर्माणको काम अन्तिम चरणमा पुर्याएसँगै ठेक्का रद्द गर्दा राज्यलाई नै घाटा हुने ठहर गर्दै समय थपमा सबै सहमत भएको स्रोतको दाबी छ। सरकारले सन् २०१४ नोभेम्बरमा चिनियाँ ठेकेदार ‘नर्थ वेस्ट सिभिल एभिएसन’सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता गरेको थियो।
सम्झौताअनुसार ठेकदारले २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसिबी-जिरो एक’ अन्तर्गतका भौतिक पूर्वाधारको सबै काम सक्नुपर्ने थियो। तर, निर्माण कम्पनीले समयमा काम नसकेपछि समय थप्दै सन् २०१९ को डिसेम्बरसम्ममा ठेकेदार कम्पनीले निर्माणको काम सक्नुपर्ने म्याद थप भएको थियो।
‘थप समयमा पनि केही काम बाँकी रहेपछि मार्चभित्र सबै काम सक्ने सुनिश्चित गरेर समय थपको प्रक्रिया सुरु भएको छ’,स्रोतले भन्यो ,‘समय थपको निर्णय गर्ने अधिकार मुख्य लगानीकर्ता एसियाली विकास बैंक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयको हो। यसका लागि सबै सहमत समेत भइसकेका छन्।’
विमानस्थलको निर्माणको काम अन्तिम चरणमा पुगेसँगै निर्माण कम्पनीलाई काम सम्पन्न गर्न केही समय लाग्ने भएपछि एडिबीले समेत थप ३ महिनाको समय थप्नु उचित हुने राय दिसकेको छ।
‘समय थपको निर्णय भइसकेको छैन। अनौपचारिक रुपमा निर्माणको विषयमा छलफल भएको हो। समय थपको औपचारिक निर्णय भइसकेको छैन। विमानस्थल निर्माणमा काम नभएको हैन। काम तीव्र रुपमा भइरहेको छ। प्रत्येकपटक हामी अनुगमनमा जाँदा र रिपोर्ट लिँदा प्रत्येकपटक कामको प्रगति पनि छ। त्यो हुँदा त्यहाँ काम गरिरहेका आयोजना प्रमुख, कामदारलाई आलोचना गर्नुपर्ने कुनै कारण छैन। उहाँहरुको नियतमा पनि कुनै खराबी म पनि देख्दिनँ। सही ढंगबाट काम भइरहेको छ। गर्दागर्दै पनि काम सकिएन भने परिस्थितिभन्दा बाहिर गएको बुझ्नु पर्छ। केही समय थप्नुपर्ने हुन सक्छ। तर, अहिले हामी तोकिएकै समयमा काम सक्ने टार्गेटमा काम गरिरहेका छौं,’ उड्डयन मन्त्री भट्टराईले भने।
समयमै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सक्ने गरी दौडिएको मन्त्री भट्टराईको भनाइ छ। ठेकेदारले पनि गम्भीरतापूर्वक काम गरिरहेको कारण सन् २०२० भित्र विमानस्थललाई सञ्चालनमा ल्याउने उनको दाबी छ।
विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेसँगै फिनिसिङको काम सुरु भएको छ। विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणअन्तर्गतका भौतिक संरचना निर्माणको काम सकिएको छ। टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडानको काम सुरु भएको छ। यस्तो अवस्थामा केही उपकरण जडान र फिनिसिङको काम गर्न समय थपको तयारी भएको स्रोतले भनाइ छ।
आयोजनाको कार्यालयले पनि विमानस्थल सञ्चालनका लागि मार्चभित्र योग्य बनाउने गरी काम भइरहेको जनाएको छ।सरकारले पनि आउँदो वैशाखभित्र विमानस्थलमा परीक्षण उडान गर्ने तयारी गरेको छ।
नगद प्रवाहमा समस्या भोग्दै ठेकेदार
विमानस्थलको निर्माण अन्तिम चरण पुगेसँगै चिनियाँ ठेकेदारलाई नगद प्रवाहमा समस्या परेको छ। चिनियाँ ठेकेदारले नगद अभावकै कारण अन्तर्राष्ट्रिय टर्मिनल भवनमा जडान गर्नुपर्ने लिफ्ट, कन्भर बेल्ट तथा रन-वे लाइटको उपकरण समयमा विदेशबाट ल्याउन सकेको छैन। यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सहयोगको भूमिका निर्वाह गरिरहेको छ।
चिनियाँ ठेकेदारले इन्भर्टर, कन्भर बेल्ट तथा रन-वे लाइटका लागि आवश्यक उपकरण नगद समस्यकै कारण समयमा ल्याउन नसकेको स्रोतका भनाइ छ। सम्झौतामा उपकरण जडानमा खर्च हुने रकम उपकरण नेपाल ल्याउँदै जडान नगरेसम्म भुक्तानी दिन नसकिने व्यवस्थाका कारण ठेकेदार समस्यामा परेको स्रोतको भनाइ छ।
उपकरण जडानमा मात्रै ठेकेदारको २ अर्ब लागत लाग्ने अनुमान गरिएको छ। नगद अभावकै कारण चिनियाँ ठेकेदारले भारतको चेन्जाइमा बनेर बसेको उपकरणसमेत ल्याउन नसकेको स्रोतको भनाइ छ। योसँगै ठेकेदारले विभिन्न कम्पनीसँग सामान खरिद गरेको रकम समेत भुक्तानी गर्न सकेको छैन। निर्माण कम्पनीले सहायक ठेकेदार कम्पनीलाई समेत ५० करोडभन्दा बढी रकम तिर्न सकेको छैन। केही रकमको भने प्राधिकरण जमानी बसेको छ।
स्रोतका अनुसार चिनियाँ ठेकेदारले सहायक ठेकेदारको मात्रै आधा अर्ब रकम भुक्तानी गर्न सकेको छैन। जसका कारण पनि काममा केही समस्या आएको स्रोतको भनाइ छ।
‘विमानस्थको निर्माणमा मन्त्रालयबाट दिनुपर्ने रकमको भुक्तानी समयमै गरिरहेका छौं। हाम्रो तर्फबाट कुनै कमजोरी भएका छैनन्,’ मन्त्री भट्टराईले, ‘ ठेकेदारलाई पनि हामीले तपाईंहरु यत्रो ठूलो देश (चीन)को ठेकेदार हुनुहुन्छ। चीनबाट यहाँ आएर काम गरिरहनुभएको छ। यदि यो आयोजनाको काम यताउति भयो भने तपाईको मात्रै प्रश्न उठ्दैन। त्यत्रो ठूलो देशको ठेकेदारको काममा प्रश्न उठ्छ भनेका छौं।’
ठेकेदारलाई काम गर्दै जाँदा नगद प्रवाहमा केही समस्या आएको कुरा सत्य भएको भट्टराई पनि स्वीकार गर्छन्।
यो विषयमा हाम्रो मन्त्रालयका प्रतिनिधी, मुख्य लगानीकर्ता एसियाली विकास बैंकका प्रतिनिधिहरु, अर्थ मन्त्रालय, राष्ट्र बैंकका प्रतिनिधीलगायतका सरोकारवालाबीच छलफल भइरहेको भट्टराईले जानकारी दिए।
‘हाम्रो तर्फबाट कुनै उपाय हुँदासम्म सजिलो हुन्छ भने त्यस्तो उपाय दिनुपर्छ भनेर भनेका छौं,’ मन्त्री भट्टराईले भने, ‘ उपाय के हुन सक्छ? यही नेपालकै कुनै बैंकबाट बैंक ग्यारेन्टी ल्याउनु सक्नुहुन्छ भने ल्याउनुस् भनेका छौं। हामीलाई पनि रकम निकासी गर्दा पर्याप्त आधार चाहिन्छ। सरकारले रकम निकासी गर्दा पनि आधार चाहिन्छ। सरकारले पनि उसलाई दुःख पर्यो भनेर त्यत्तिकै रकम दिन मिल्दैन र दिन पनि सक्दैन।’
सरकारले चिनियाँ ठेकेदारसँग ६ अर्ब २२ करोड रुपैयाँमा ‘आइसिबी–जिरो एक’ अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रन-वे, ट्याक्सी-वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।