काठमाडौं- प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेल-पेसँग सहकार्य गरेको छ।
सहकार्य सम्झौतामा बैंकका उपमहाप्रबन्धक भाइराजा तुलाधर र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्। प्राइम कमर्सियल बैंकका ग्राहकहरुले सेल-पेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै १ सय रुपैयाँ बराबरको मोबाइल रिचार्ज (टप-अप) पाउने छन् भने सेल-पेमार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयल्टी पोइन्ट पनि पाउने छन्।
ग्राहकहरुले सेल-पेमा आवद्ध गरिसकिएका अन्य बैंकमा वा त्यहाँबाट प्राइम कमर्सियल बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्नेछन्। ग्राहकहरुले सेल-पे भुक्तानी सेवा रहेका स्थानहरुमा सेल-पेमार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्ने छन्। यसमार्फत मोबाइलको टप-अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरुको बिललगायत बिल भुक्तानीगर्न सकिने छ।
सेल-पे सेलकम प्रालिद्वारा सञ्चालित नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक कम्पनी हो। यसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्छ।
भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र राखी विकास गरिएको छ। सेल-पेमार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।