काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले यथास्थितिमै नेपाल वायुसेवा निगममा सरकारले लगानी गर्न नसक्ने बताएका छन्। सरकारले नेपाल वायुसेवा निगममा २० अर्बमात्रै नभई ५० अर्ब लगानी गर्ने तर, विश्वासिलो आधार सहितको योजना निगम व्यवस्थापनबाट आउनुपर्ने उनले बताएका छन्।
‘व्यवस्थापनले विश्वासिलो आधार दिएन भने पैसा छ भन्दैमा बुझाउन जाने कुरा त हुँदैन,’ मन्त्री भट्टराईले भने, ‘नेपाल एयरलाइन्समा पूँजी परिचालन गर्न नेपाल सरकार तयार नै छ। सरकारले वार्षिक बजेटमा पनि नेपाल एयरलाइन्सलाई दिने रकम छुट्याइरहेको पनि छ। उहाँहरुले २० अर्ब मागिरहनुभएको छ। त्यो २० अर्बले अहिलेको अवस्थामा नेपाल एयरलाइन्समा के हुन्छ भनेर हामीले त्यहाँको व्यवस्थापनसँग विश्वासिलो आधार खोजिरहेका छौं।’
मन्त्रालय तथा सरकारले निगम व्यवस्थापनसँग योजना मागे पनि पेस गर्न नसकेको भट्टराईको भनाइ छ। ‘निगमले विश्वासिलो आधार पेस गरेको अवस्थामा पैसाको खाँचो हुँदैन। यहाँ सरकार मातहतमा रहेका वित्तीय संस्था लगानी गर्न तयार छन्। तर, व्यवस्थापनले विश्वासिलो आधार दिएन भने त पैसा धेरे भयो भनेर बुझाउन त जाँदैन,’ भट्टराईले भने।
सरकारले अहिले निगमले पैसा मागे भन्दैमा दिँदा ऋणको ब्याज कसरी तिर्छ? भोलि त्यसले घाटा कसरी परिपूर्ति गर्छ? भोलि हामीले गरेको लगानीको नाफा कसरी पाइन्छ? भन्ने कुराको विश्वासिलो आधार त आउने पर्ने मन्त्री भट्टराईको भनाइ छ।
निगमको सुधार गर्दै सरकारले त्यसलाई कम्पनी मोडलमा लैजाने तयारी समेत भएको भट्टराईले जानकारी दिए। ‘कम्पनीमा लैजान्छौं त्यसपछि सामूहिक दायित्वमा गइहाल्छौं। अहिले कुनै कार्यकारी अध्यक्षको दायित्व होला तथा कुनैमा पर्यटन मन्त्रालयको दायित्व होला। जब हामी सार्वजनिक कम्पनी मोडलमा जान्छौं त्यहाँ समावेश हुने सबै सरकारी संस्थाको सामूहिक दायित्व हुन्छ,’ भट्टराईले भने।
नेपाल वायुसेवा निगमलाई यस्तै अवस्थामा छाडियो भने विघटनको दिशातिर जाने अवस्थमा आउने समेत भट्टराईको भनाइ छ।
‘निगम विघटन हुँदा यसले ठूलो राष्ट्रिय क्षति ल्याउँछ। यसमा ठूला वित्तीय संस्थाहरुको लगानी छ,’ मन्त्री भट्टराईले भने, ‘त्यो रकम भनेको फेरि नेपाली जनताकै हो। सञ्चय कोष र नागरिक लगानी कोषको रकम पनि नागरिककै लगानी हो। यसकारण पनि नेपाल एयरलाइन्स डुब्दा यसको न्युरोडमा भएको केन्द्रीय कार्यालयमात्रै डुब्दैन। यसकारण यसलाई विघटनतिर जान दिन हुँदैन। उन्नतिको दिशातिर लैजानु पर्छ भन्ने उद्देश्य सरकार र मेरो हो।’
‘वाहा नेपाल एयरलाइन्स’ हुन्छ र बनाउँछु भनेर उद्घोष गरेअनुसार निगमको सुधारका लागि आवश्यक कदम समेत चाल्ने भट्टराईको भनाइ छ। त्यसका लागि पहिलो पाइलामै सार्वजनिक कम्पनीमा रुपान्तरण गर्दै यसका हिस्सेदार बढाउँदै यसको वित्तिय क्षेत्रमा पनि सुधार गर्दै व्यवस्थापनमा पनि सुधार गर्ने भट्टराईको भनाइ छ।
निगमको संगठनात्मक क्षेत्रमा पनि सुधार गर्दै नेपाल एयरलाइन्सको देशभर भएको चलअचल सम्पत्तिलाई पूर्ण व्यावसायिक क्षमतामा परिचालन गर्दै यसका घाटा परिपूर्ति गर्ने र दुर्गम ठाउँ, तराई क्षेत्र र अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्न सक्ने विमान खरिद गर्दै बजारमा समेत यसले हस्तक्षेप गर्न सक्ने बनाएर अगाडि लैजाने भट्टराईको योजना छ।
‘निगम यो अवस्थामा आउनुमा हिजो कसले के कमजोरी गर्यो म त्यता फर्कनँ चाहन्न। त्यो गर्न थालियो भने विगततिर नै बढी लागिन्छ,’ मन्त्री भट्टराईले भने, ‘भविष्यतिर जानुपर्ने अवस्थामा विगततिर जान थालियो भने एकले अर्कोलाई आरोप लगाउने, भन्डाफोर गर्ने काम बढी हुन थाल्छ। यो त समय बर्बाद गर्ने विषयमात्रै हुन्छ।’
नेपाल वायुसेवा निगम यो अवस्थामा आउनुमा एउटा प्रमुख कारण व्यवस्थापन रहेको समेत भट्टराईको ठहर छ।
‘यसो भन्न कुनै हिच्किचाहट गर्नुपर्ने छैन। नेपालमा सञ्चालन भएका निजी क्षेत्रका अन्य एयरलाइन्सले जहाज थपिरहेका छन्। घाटामा गएको भए त जहाज थप्ने थिएनन् होला। उहाँहरुको भन्दा विश्वासिलो र दरिलो आड पाएको नेपाल एइरलाइन्सको देशभरि सम्पत्ति छ। तर, योचाहिँ किन घाटामा गइरहेको छ? यस कारण पनि त्यहाँ व्यवस्थापनको कमजोरी छैन भनेर कसरी भन्न सकिन्छ?,’ मन्त्री भट्टराईले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।