काठमाडौं- नक्कली तथा झुटा बिल बिजक जारी गरी राजस्व छलेको आरोपमा राजस्व अनुसन्धान विभागले बरुण वेभरेज विरुद्ध ६४ करोड ९६ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ।
विभागले कम्पनी विरुद्ध बिगोको दुईगुणा जरिवाना समेत गरी १ अर्ब ९२ करोड रुपैयाँ मागदावी गर्दै बहुराष्ट्रिय कम्पनी विरुद्ध बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
राजश्व चुहावट ऐन २०५२ अनुसार कसुर गरेको पुष्टी भएकाले वरुण वेभरेजबाट १ अर्ब ६० करोड रुपैयाँ बैंक जमानत लिई मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए। विभागले बरुण वेभरेजका पूर्व तथा वर्तमान सञ्चालकहरु विरुद्ध राजश्व चुहावट गरेको अभियोग लगाएको छ।
विभागका अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्ममा झुटा तथा मुल्य अभिवृद्धि कर बिजकको कारोबारबाट मूल्य अभिवृद्धि करतर्फ २५ करोड ३४ लाख ६ हजार ९ सय ४० रुपैयाँ र आयकरतर्फ लाभांशसमेत गरी ३९ करोड ६१ लाख ९५ हजार ४ सय रुपैयाँ राजश्व छली गरेको देखिएको छ।
राजस्व चुहावट नियन्त्रण ऐनको दफा २ छ(१) बमोजिम बिगो कायम गरी उक्त बिगो रकम सोही ऐनको दफा २३ बमोजिम प्रतिवादी बरुण वेभरेज (नेपाल) प्रालि, यसका पूर्व तथा वर्तमान सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, बिनोलकुमार सिंह र अशोक कुवँरबाट असुल उपर गर्ने विभागले जनाएको छ।
उनीहरुविरुद्ध बिगोको दोब्बरसम्म जरिवाना तथा ३ वर्षसम्म कैद सजायको माग गरिएको छ।
यो पनि पढ्नुहोस्:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।